पाठकको मन जित्दै दंश, यथार्थ र सामाजिक विकृतिमाथि लेखकको प्रहार

पाठकको मन जित्दै दंश, यथार्थ र सामाजिक विकृतिमाथि लेखकको प्रहार

सुभद्रा ढकाल

@Mayur Times

२०७७ भदौ २९ गते सोमबार ०९:२७

प्राय उनले कथाहरूमा नेपालको आर्थिक, राजनीतिक, सामाजिक, जस्ता विषयको बारेमा लेखेका छन् । बालिहाङको प्रेम, छोडेको फूल, नीलो गुलाव, मदेशको गर्मी, लगायतका कथामा प्रशस्तै मात्रामा मनोविज्ञान भेट्न सकिन्छ । वर्तमान सेल्फी पुस्ताको प्रेमलाई बालिहाङको प्रेमले नक्कली प्रेम, छलकपट धोकाको युगमा साँचो प्रेमको उदाहरण दिन सफल भएको छ ।

कथाकार दिनमानकोे कथासङ्ग्रह दंश भित्र १८ को कथा समावेश गरिएको छ । उनको कथा भित्र समाजको यथार्थताको मानवीय क्रियाकलाप संस्कार र मनोविज्ञानलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । सरल, सहज र प्रतीकात्मक भाषाशैलीमा सजिएका कथाहरूले पाठकलाई कतै रुवाउँछ, कतै हसाउँछ । उनका कथाहरू प्रायजसो संवेदनाको तहबाट लेखिएकोे पाइन्छ । महामारी, नागरिकता, देश, मदेशको गर्मी, बालिहाङ्को प्रेम, पुरुष, घुरजस्ता कथाहरू निकै उष्कृष्ट कथाभित्र पर्दछन् ।

प्राय उनले कथाहरूमा नेपालको आर्थिक, राजनीतिक, सामाजिक, जस्ता विषयको बारेमा लेखेका छन् । बालिहाङको प्रेम, छोडेको फूल, नीलो गुलाव, मदेशको गर्मी, लगायतका कथामा प्रशस्तै मात्रामा मनोविज्ञान भेट्न सकिन्छ । वर्तमान सेल्फी पुस्ताको प्रेमलाई बालिहाङको प्रेमले नक्कली प्रेम, छलकपट धोकाको युगमा साँचो प्रेमको उदाहरण दिन सफल भएको छ ।

अनुहार ः अनुहार कथाको सुरुवात आँगनमा नवजात शिशु भेटिएपछिको प्रसङ्गबाट भएको छ । सुरक्षित तरिकाले राखिदिएको शिशुको बारेमा कसैलाई पनि जानकारी नभएपछि पुलिस इन्सपेक्टले बच्चा जिम्मा लिएको प्रसङ्ग पनि उल्लेख गरिएको छ । विवाह गरेको धेरै बर्ष वित्दा पनि बच्चाको रहर पूरा गर्न नसकेको दम्पती बालकको आगमनमा निकै खुसी देखिएका छन् । उसकी पत्नीले बच्चालाई आफूभन्दा बढी माया गरेकी छ । समय बित्दै जाँदा बालकको हरेक क्रियाकलाप र बानीहरू उसको धर्मबाबुसँग मिल्न गएकोमा सबै चकित परेका छन् तर, रहस्यको पर्दा भने खुल्न सकेको छैन । एकदिन रहस्यमय चिठी आउँछ । राधिका नामको केटीले पठाएकी हुन्छे । माओवादी सङ्क्रण कालमा भाग्दाभाग्दै एकरात राधिकाको घरमा पुगेको र त्यो रात ऊसँग सहवास भएरपछि इन्सपेक्टर हराएको र राधिकाले सङ्घर्ष गर्दै बच्चा जन्माएको र अन्तमा उसकै घर अगाडि ल्याएर छोडेर प्रसङ्गमा कथाको अन्त्य भएको छ । कथामा हामीले आफ्नो अनुहार अरूको भन्दा निकै राम्रो भएको सोचेका हुन्छौँ । तर कतै न कतै कुनै न कुनै कुरामा चुक्छौ भन्ने किसिमको सन्देश दिन खोजिएको छ । पुरुषहरूले नारीहरूलाई बासनाको साधन बनाएर कसरी बेबास्ता गर्न सक्छन् भन्ने कुराको सङ्केत उक्त कथामा गरिएको छ ।

२ पुरुष ः उनका कथाहरूभित्र युवा पुस्ताले रुचाउने कथा पनि अटेका छन् । गाउँबाट विशाल सपना बोकेर सहर पढ्न आएको एउटा केटोको कथा यस कथाभित्र अटेको छ । उसँगै गाउँबाट अर्को केटो पनि आएको छ जागिर खानको लागि । जागिर खाने केटाको जागिर खुस्किन्छ । मजदुर युनियनले कुनै पनि सहयोग गर्दैनन् । जागिर खोज्ने क्रममा कतैपनि नपाएपछि धनढ्य महिलाहरूलाई उनीहरूकै घरमा यौन सन्तुष्टि दिलाउने पुरुष वेश्या हुन पुग्छ । जीवन धान्न मुश्किल भएपछि पुरुष वेश्याको काममा निरन्तर लागिरहन्छ । तर दुवैलाई एक अर्काको पेशा थाहा हुँदैन । यसले बर्तमान नेपाली समाजमा रहेको विकृतिपूर्ण बाध्यतलाई देखाउन खोजेको छ । पढेर पनि देशमा उचित रोजगार नमिलेपछि हरेक बेरोजगारका लागि वेश्यावृत्ति सहज बाटोको रूपमा देखा परेको छ ।
३ घुर ः तराइको ज्यानै लैजाने चिसो । गरीब किसानहरूमा देखिने चिसोको असरलाई कथाकारले निकै मार्मिक किसिमले प्रस्तुत गरेका छन् । जाडो कम गर्नको लागि पिएको रक्सीको मातमा भागिराम मुसहरले घुर ताप्ने सुरमा आफ्नो सिङ्गो घर नै जलाएको प्रसङ्ग निकै मार्मिक रहेको छ । भागिरामको घरमा प्रशस्तै दाउरा छैन । परिवारको सबै सदस्यहरूलाई पुग्ने लुगा पनि छैन । तराइको जाडो चिसो भुइँमा भागिराम र उसको परिवारको बाध्यता पनि छ । यो कथा पढ्दा लाग्छ पाठक आफैँ तराईको कुुनै भुभागमा छ र उसले पनि त्यो समस्या झेलिरहेको छ । जाडोमा हजारौँ तराइवासीको बाध्यतापूर्ण विवशताको कथा यस कथाले बाकेको छ ।
४) महामारी ः महामारी कथामा नेपाल सरकारको गैर जिम्मेवारीपूर्ण प्रवृत्तिलाई छर्लङ्ग हुने गरी देखाइएको छ । पश्चिम नेपालको दाङको सुन्दरपुर आसपासको स्थानमा देखाइएको कथामा फोहोर पानीको कारणले गाउँमा महामारी फैलिएको र महामारी निवारणको लागि सरकारी पक्षबाट कुनै पनि किसिमको पहल नभएको । युद्धको समयमा जनतासँग सहयात्रा गर्छु भनेर वचन दिएका नेताहरू देशमा गणतन्त्रको उदयपछि जनताको पहुँचबाट टाढा रहेको र सामान्य जनतालाई वास्ता नगर्ने यथार्थ महामारी कथामा देखाइएको छ । कथामा आम नेपालीहरूलाई गणतन्त्र पहिले र पछाडि पनि कुनै किसिमको प्रभाव नपरेको कुरा देखाइएको छ ।
५) योद्धासँगको केही पल ः यस कथामा जनयुद्धको समयमा आम नेपालीहरू योद्धाहरू कसरी योद्धा हुन पुगे । जनयुद्धको अन्त्यपछि उनीहरूको इच्छा चाहानालाई लात हानेर अन्योलग्रस्त भविष्यमा अल्झाएको विषयलाई उठान गर्न खोजिएकोे छ । देशका लागि देशवासीले गरेको त्याग र समर्पणलाई कसरी उपयोग गरिएको छ । भन्ने किसिमको देशको सामाजिक विषयलाई उठान गर्न खोजिएको छ । युद्धको समयमा अपाङ्ग भएका जवानहरू परिश्रम गरेर जीवनयापन गरिरहँदा पनि गर्भ महसुस गरेर देशसँग कुनै गुनासो नरहेको कुरा बताएका छन् । देशको लागि ज्यान दिन परेपनि आफ्नो स्वार्थभन्दा माथि उठेर लाग्नुपर्छ भन्ने सन्देश यस कथामा दिन खोजिएको छ ।

६) चियाको बाफ ः यस कथामा एउटा पात्रले देखेको सपनालाई चित्रण गरिएको छ । कथामा संसारका सबै नारीहरू गायब भएको कल्पना गरिएको छ । आफूसँग हुँदा महत्वहीन बनेका नारीहरू संसारबाट गायब हुँदा संसार कस्तो होला ? भन्ने किसिमको प्रसङ्गको उठान गरिएको छ । महिला विनाको संसार हाहाकार हुने, उथलपुथल हुने र संसार नै शुन्यतामा विलाउने कल्पना कथाकारले गरेका छन् । सुरुमा कथा पढ्दा निकै उत्साहजन लाग्छ कतै यो वास्तविकता नै पो हो कि भन्ने किसिको मानसिता तयार भैसक्छ । अन्त्यमा कथाकारले निकै चलाखीपूर्ण किसिमले परिकल्पना गरेर र सपनामा लगेर टुङ्गाएका छन् । समयमा नै पुरुषहरूले नारीको महत्व नबुझ्दा पछाडि कसरी पछुताउनु पर्छ भन्ने कुराको सङकेत उक्त कथामा पाउन सकिन्छ ।

७) दंश ः यस कथामा द्वेषपूर्ण प्रश्नको उत्तर खोजिएको छ । सामान्य कुरालाई ख्याल नगर्दा जिन्दगी खतरापूर्ण अवस्थामा पुग्ने सङ्केत उक्त कथाको पात्र बखतबहादुको अवस्थाबाट प्रष्ट हुन्छ । देश र जनताको लागि सुरक्षा दिन खटिएका र सधैँ राष्ट्रसेवामा अडिक रहन्छु भन्ने कसम खाएका प्रहरी जवानले आफ्नो अंग पनि जोगाउन नसकेको कुरा कथामा देखाउन खोजिएको छ । देशमा दिनप्रतिदिन भैरहने हत्या, हिंसा, बलात्कारको घटनाको कारण देशको पछिल्लो समयको राजनीतिक अवस्थाको बारेमा सङ्केत गरेको छ । कथा पढिरहँदा बखतबहादुरको दोमनको भाषाले मनमा दंश मच्चाउँछ र बर्तमान देशको बारेमा सोच्न बाध्य बनाउँछ । कठिन विषयबस्तुलाई मनोवैज्ञानिक किसिमले कथाकारले उठाउन खोजेका छन् ।

८) प्रेमको धरहरा ः यो कथा प्रेम विषयमा आधारित कथा हो । कथामा प्रेमको धरोहरा र वास्तविक धरोहरा चढेको समयमा २०७२ सालमा आएको भुकम्पले तहसनहस पारेको प्रेमिल जीवनको बारेमा व्याख्या गरिएको छ । प्रेमिकाको मृत्यु भैसकेपछि पनि प्रेमीले धरहरासँगको पुरानो यादहरू सम्झिएको । प्रेमको चरम अवस्थामा पुगेको बेलामा ७२ सालको भुकम्पले धेरैको प्रेमिल जीवन यसैगरी तहसनहस बनाएको कहानी उठाउन खोजिएको छ ।

९) पराजित ः यो कथा मनोवैज्ञानिक कथा हो । विशेषगरी आत्माहत्यालाई केन्द्रमा राखेर कथाको उठान गरिएको छ । जिन्दगीलाई शुन्यतावादसँग तुलना गरेर आफ्नो जिन्दगी देखि आफैँ विरक्तिएर जिन्दगीलाई सिध्याउन खोज्नेहरूमाथि ठाडो व्यङ्ग प्रहार गरेर जिन्दगीलाई बाँच्नुपर्छ अकालमा मृत्युको सिकार बनाउनु हुँदैन भन्ने किसिमको सन्देश दिन खोजिएको छ । हरेक मानिसहरूको स्वभाव पाइलापाइलामा जित खोज्ने रहेको हुन्छ जित एकै पटक हुँदैन पाइलापाइलामा सङ्घर्ष गरेपछि जीत निश्चिित हुने कुरा कथाकारले देखाउन खोजेका छन् । पराजित हुँदैमा आत्तिनु हुँदैन पराजितले पनि जिन्दगीमा नयाँनयाँ रङ्गहरू ल्याउन सक्छन् भन्ने कुराको सङ्केत गरिएको पाइन्छ । यो कथा पढ्दै जाँदा पाठकलाई आफ्नै कथा पो हो कि भन्ने कुराको भान हुन्छ ।

१०) पलिना इन्द्रावती र बगरको यात्रा ः कथामा विवाहित पुरुषसँग अविवाहित युवतीको प्रेमलाई कस्तो हुन्छ भन्ने कुरामा केन्द्रित रहेको छ । ग्रामीण भूभागमा समाजसेवामा अहोरात्र खटिएका परोपकारी पात्रलाई कथाले प्रतिनिधित्व गरेको छ । प्रेमको अन्त्य विवाह हैन । प्रेम र विवाह अलग विषय हुन भन्ने आदर्श कथामा छ । शरीरको मिलन मात्रै प्रेम हैन मनको मिलन पनि प्रेम हो भन्ने कुरा उल्लेख गरिएको छ ।

११) संक्रमण ः सुनौलो सपना सजाएर बैदेशिक रोजगारका लागि प्रवास भासिएका आम नेपाली युवा÷युवतीको वास्तविकतालाई उठान गरिएको छ । यस कथाभित्र सम्पत्ति, परिवार र शरीर भन्ने कुरा केही भन्ने कुरालाई प्रस्तुत गरिएको छ । कथाको प्रमुख पात्र कमल त प्रतिनिधिमूलक पात्र मात्र हो । दैनिक श्रीमतीको भरमा पूरै परिवार जिम्मा लगाएर विदेश गएर फर्कदा केही समय पछि वैवाहिक जिन्दगी नै तहस नहस भएको आम घटनाको चित्रण यस कथामा गरिएको छ । पति ÷ पत्नी परदेशमा कमाउन जाँदा यता अर्काेसँग रमाउने दुखले आर्जन गरेको पैसा उडाउने र आफ्नो जीवन नै नरहने वा रोगको भारी बोकेर आउनुपरेको दुर्दशालाई कथाले उठान गरेको छ । अझै जीवन पैसा मात्रै हो भन्नेका लागि यो अर्काे गतिलो प्रहार हो ।

१२) छाडेको फूल ः एउटा सामान्य परिवारमा जन्मेकी केटी र युवकको सहरमा चल्ने दैनिकीलाई कथमा उठान गरिएको छ । सहरमा बाँच्नको लागि नारीले कस्तोकस्तो पेशा सम्म अपनाउनु पर्छ भन्ने कुरालाई उठाएको छ ।

१३) वेब तृष्णा ः यस कथामा संचार प्रविधिले ल्याएको सुविधालाई मानिसहरूले गलत ढङ्गबाट प्रयोग गरेको कुरालाई विषयबस्तु बनाएर कथाको उठान गरिएको छ । प्रविधिलाई सही ढङ्गबाट प्रयोग नगरी गलत दृष्टिले चलाउँदा आइपर्ने समस्याको बारेमा देखाउन खोजिएको छ । सञ्जालभित्रको जञ्जालले बर्तमान समयमा बढिरहेको अपराधको उन्मादले प्रविधिलाई अभिसाप सावित गर्ने हो कि भन्ने खतराको संकेत कथाले गरेको छ ।

१४) मधेसको गर्मी ः यस कथामा संवेदनशील विषयको उठान गरिएको छ । मधेस आन्दोलन र तत्कालीन राजनीतिक अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेर कथाकारले कथामार्फत कला भरेका छन् । तराई आन्दोलनको दबदबा सुन्दा मात्रै मुटुमा चिस्यो पस्थ्यो । त्यस समयमा मधेशमा बस्ने बाँच्न पाउने अधिकार समेत लुटिएको थियो । संवेदनाहीन भएर त्यस समयमा निर्मतापुर्वक गरिएको हत्या, देश र जनताको लागि मात्र नभई व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको कुरा उक्त कथामा उल्लेख गरिएको पाइन्छ । जातिवादभित्रको तत्कालीन मुद्दा पनि कथामा कलात्मक किसिकले उठाइएको छ ।

१५) बालिहाङ्को प्रेम ः प्रेममा रहेको विश्वासलाई उनले देखाउन खोजेका छन् । प्रेम के हो ? प्रेम के का लागि गरिन्छ ? यो समाजमा प्रेम हराएको बेलामा सच्चा प्रेम गर्ने विश्वासमा बाँचिरहन्छ र प्रेम जिउँदो छ भनेर प्रेमको परिचय प्रष्ट्याउन सफल भएको छ । जीवनको अन्तिम समयसम्म पनि पनि प्रेम बुढो नहुने कुरा, नमर्ने, ननासिने र नडराउने कुरा बलिहाङको प्रेमले तथ्यसहित प्रमाणित गर्न खोजेको छ । यसर्थमा पनि अजर प्रेम यहीँ कतै हुने गरेको छ भन्ने सन्देश बलिहाङको कथा पढ्दा बुझिन्छ ।

१६) त्यो रात ः कथामा नसाको धङधङीमा आउने दृश्यलाई कथाले मूल विषय बनाएको छ । मदिराले देखाउने दृश्य कतिसम्म शंकालु हुन्छ भन्ने कुरा पात्रद्वारा विम्बित गरिएको छ ।

१७) नीलो गुलाफ ः कथामा अपराध दुनियाँभित्रको एउटा रोमाञ्चक परिदृश्यलाई देखाइएको छ । जबकि, नीलो गुलाफ चोरेर आफ्नो प्रेमिकालाई दिने एउटा पात्रको सपना सीमित त बनेको छ, नै । अर्काे अनौठो लाग्ने कुरा यो हो कि अपराध आफैँ गर्नु र संलग्नताको खोजी गर्न पनि आफ्नै नेतृत्व हुनुभित्र कथाले धेरैथरी प्रश्न उठान गरेको छ ।

१८) नागरिकता ः यस कथामा हामी आफ्नो निरन्तर काममा अडिग र इमानदार भए पनि अरूले गरेको गल्तीको भागिदार बनाउन प्रहरी प्रशासनपछि पर्दैन भन्ने भावलाई उठान खोजेको छ । नाम मिलेकै भरमा सजायको भागिदार हुन पुगेका पात्र जुगल केवटले आफूलाई निर्दाेष सावित गर्दासम्म उसलाई ऋणको भारीले थिचिसकेको हुन्छ । अर्काको घरमा काम गरी मिहिनेत मजदुरी गरेर खाने गरिबको नाम कुनै अपराधीसँग मिल्यो भने राज्यको संयन्त्रले केही हेर्दैन सिधैँ दोषी करार दिएर कारावासमा जाक्छ भन्ने आशय यस कथाको रहेको छ । महोत्तरी जिल्लामा भएको यो सत्य घटनालाई कथाकारले कथाको रूप दिएका हुन् ।
कथाको सबैभन्दा बलियो पक्ष ःकथाकारले कथालाई अपत्याशित रूपमा गरिदिएका छन् । पाठकको सोचाईभन्दा फरक तरिकाको अन्त्यले पाठकलाई आश्चार्य चकित बानाउँछ । उनको कथामा सरल सहज किसिमको भाषाशैली र कथाको परिवेशमा पाठक नै पुगेको जस्तो भान हुन्छ ।
कथाको दुर्बल पक्ष ःदिनमान राम्रो कथाकार हुँदाहुँदै कतिपय ठाउँमा न्याय गर्न चुकेका छन् राजनीतिक, सामाजिक–सांस्कृतिक, आर्थिक एवम् तिनद्वारा निर्मित मनोवैज्ञानिक यथार्थको पनि आधारभूत जानकारी हुनुपर्दछ । क्थामा कतै कतै त्यो पक्ष चाहिँ चुकेको हो कि भन्ने आभाष हुन पुग्छ । कतै कतै उनका कथामा फिल्मी शैलीको झल्को पनि भेट्न सकिन्छ ।

प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार ०९:२७
प्रतिक्रियाहरू