फिचर

मजदुरी गर्दै पढेका देव सजन बने सरकारी जागिरे भन्छन्, ‘उपसचिव बन्ने सपना छ ‘

मजदुरी गर्दै पढेका देव सजन बने सरकारी जागिरे भन्छन्, ‘उपसचिव बन्ने सपना छ ‘

सुभद्रा ढकाल

@Mayur Times

२०७७ भदौ २८ गते अाईतबार १०:५५

काठमाडौँमा होस्टलमा बस्दा मलाई  कति खेर दिन हुन्छ ? घाम कति बेला लाग्छ , केही थाहा हुँदैनथ्यो । मैले गरेको मेहनतले मैले तीन महिनामा नै सरकारी जागिर खान सफल भएँ । नाम निकालेपछि मेरा पराइ भएका सबै आफन्त र साथी नजिक भए । अहिले लाग्छ , एक्लै हिँड्न सक्ने भएपछि हात समाउने मान्छेको भीड लाग्दो रहेछ ।

नेपाली साहित्य क्षेत्रमा भर्खरै उदाउँदै गरेका देव सजन सुनार पेसाले सरकारी जागिरे हुन् । जति उनको वर्तमान सुन्दर छ, विगत त्यति नै कहाली लाग्दो छ । उनको जन्म २०५४ सालको वैशाख महिनामा जाजरकोटमा भएको थियो । उनको वाल्यकाल त्यहाँको रमणीय वातावरणमा रमाउँदै वितेको थियो ।

मयूर टाइम्ससँगको संवादमा उनले विगत यसरी सम्झिए,

नेपाल एउटा पुरुष प्रधान समाज हो । मेरो गाउँ र परिवार पनि यो सोचाइ भन्दा पर थिएन । आमाले भन्नु भएअनुसार म जन्मिएको दिन घर र छिमेकमा रौनक छाएको थियो अरे । हजुरआमा र बाबालाई मेरो जन्मले निकै खुसी दिएको रहेछ । सबैको प्रिय मान्छे र आशाको केन्द्रविन्दु हुँदै म विस्तारै हुर्कन थालेँ । जब म पाँच वर्षको भएँ, मलाई गाउँकै ज्ञानोदय प्राथमिक विद्यालयमा बाबाले भर्ना गरिदिनुभयो । त्यस बेला स्कुलमा खाजाको रुपमा हलुवा दिइन्थ्यो । म हलुवाकै रहरले पनि नियमित स्कुल जान्थेँ ।

हाम्रो परिवार त्यति शिक्षित थिएन । बाबाले कक्षा दुई मात्रै पढ्नुभएको थियो । बाबाले धेरै नपढेपनि उहाँले मलाई घरमा सामान्य कखरा सिकाउनुभएको थियो । त्यसकारण मलाई विद्यालयमा पढ्नको लगि त्यति कठिन भएन । म कक्षा तीनमा पढ्ने बेलामा हाम्रो परिवारमा दुई बहिनीको जन्म भइसकेको थियो । २०६२ सालमा भाइ पनि जन्मियो । म कक्षा चारमा पुगेँ । मेरो पढाइ निकै राम्रो थियो । कक्षा ४ मा पुग्दा मैले दोस्रो स्थान हाँसिल गरेको थिएँ ।

हाम्रो परिवारको खुसी धेरै समय टिक्न सकेन । मलाई लाग्छ , खुसीको आयु लामो नहुँदो रहेछ । ६३ साल वैशाख सत्र गते हाम्रो लागि कालो दिन बनेर आयो । बाबा गाउँकै एउटी दिदीको बिहेमा जानु भएको थियो । उहाँ एक्कासि विरामी हुनुभएछ । राति बोकेर घरमा ल्याइयो । हाम्रो गाउँ सदरमुकामको नजिकै भएपनि गाउँमा मेडिकल समेत थिएन । नजिकको अस्पताल भनेकै रुकुम चौरजहारीको मिसन हस्पिटल हो । त्यहाँ लैजानको लागि सम्भव भएन ।

बाबालाई घर ल्याएपछि थाहा भयो, राति बिहे घरमै घरमा धामी बसालेर पूजा गरिएको रहेछ । तर पनि उहाँलाई विसको उन्नास भएन । कालो रात वितेर विहान भयो । तर त्यो सुनौलो विहानमा पनि कालो रातको छायाँ हटेको रहेनछ । बाबालाई विहानै मेडिकल लागियो । त्यसपछि पनि कुनै निको हुने सम्भावना देखिएन । बाबालाई निको पार्न धेरै कोसिस गरियो । एक हप्ताको बिचमा हाम्रो घरमा २/३ जना धामी झाक्री बसे कति पाठा काटियो । कति चल्ला काटियो । कति कुखुरा काटियो । त्यसको कुनै हिसाब नै छैन । गाउँमा झाँक्री लगाएर पनि बाबालाई निको नभएपछि बाबालाई मिसन अस्पतालमा लागियो । दुई हप्ता त्यहाँ राख्दा पनि सन्चो हुने कुनै लक्षण नै देखिएन ।

बाबालाई निको नभएपछि हामीले थप सम्भावनाको खोजी गर्न थाल्यौँ । त्यतिबेला हाम्रो सदरमुकामसम्म गाडी नै पुगेको थिएन । टाढा लैजानका लागि एउटै उपाय थियो जहाज । त्यो पनि हाम्रो लागि सम्भव थिएन । पैसा मिसन अस्पतालमा नै सकिसकेको थियो । धेरै प्रयास गर्दा पनि प्रयास विफल भएपछि असार २० गते ३३ वर्षको उमेरमा बाबाले संसार छोड्नुभयो । आमाको सिउँदो पुछियो । हामी टुहुरो भयौँ । सन्तानमा सबैभन्दा ठुलो म थिएँ । परिवारका सबै अभिभारा म माथि आइप¥यो ।

बाबाको मृत्यु हुँदा आमा उमेर ३० वर्षको थियो । गाउँलेहरुले आमालाई हेरेर कुरा काट्न काट्थे । धेरैले भन्थे, जवानीमै बुढो मरिहाल्यो, अब यो पोइल जान्छे यी केटाकेटीको बिचल्ली हुन्छ । बाबाको मृत्युमा विक्षिप्त बनेकी आमामाथि पटकपटक यस्तै शब्दको प्रहार हुन्थ्यो, तर पनि उहाँ चुपचाप सहनुहुन्थ्यो ।

त्यस वर्ष सबैको घरमा दशैँ, तिहार आयो हाम्रोमा आएन । बाबाको मृत्युको कारणले हामी शोकमा डुबेपछि आफन्त पनि आफन्त जस्ता भएनन् । मलाई त्यतिबेला लाग्यो आफूसँग केही नभएपछि आफन्त पनि आफन्त जस्ता हुँदा रहेनछन् ।

हाम्रो आफ्नो मान्छे भएर मामा र ठुली फुपू मात्रै हुनुहुन्थ्यो । हामीलाई एक्लो पनको महसुस नहोस् भनेर प्रायजसो उहाँहरु आइरहनुहुन्थ्यो ।
मामाको घर अलि टाढा थियो । बाबाले नै मामालाई बसाई सरेर नजिक आउन लगाउनु भएको हो । पछि हाम्रो सहारा नै मामा बन्न आइपुग्नुभयो । खेतीपाती लगाउनेदेखि लिएर हाम्रो सम्पूर्ण समस्याको समाधान मामाले नै गरिदिनुहुन्थ्यो । विस्तारै मामाकोे परिवार पनि ठुलो हुँदै गयो । उहाँलाई पनि समस्या बढ्दै गयो । हामी हुर्किँदै गयौँ । हाम्रो पनि खर्च र समस्या बढ्दै गए । देशमा र छिमेकमा कयौँ पटक दशैँतिहार आयो । तर हाम्रो घरमा आएन । हामीसँग हजुरआमा पनि हुनुहुन्थ्यो । चाडपर्व मनाउन पनि हजुरआमाको सामाजिक सुरक्षा भत्ता कुर्नुपथ्र्यो । प्रकृतिमा ऋतुहरु फेरिन्थेँ तर नयाँ लुगा फेर्नको मैले वर्षौ कुनुपथ्र्यो । बाबा वितेपछिका समय हाम्रो लागि कहालीलाग्दो समयको रुपमा देखियो ।

गाउँमा कक्षा पाँचसम्म मात्रै पढाइ हुन्थ्यो । म ६ मा पुगेँ । नयाँ स्कुलमा पढ्नको लागि करिब एक डेढ घण्टाको उकालो बाटो हिँडेर विजय मा.वि. काफलचौर जानुपथ्र्यो । त्यो बेला त्यहाँ खानेपानी तथा खाजा खाने होटेल पसलको व्यवथा समेत थिएन । स्कुलबाट फर्केपछि तल पसल थियो । सबै साथीहरुले त्यहाँ आएर खाजा खान्थे । म सँग पैसा हुँदैनथ्यो अरुले खाएको हेर्दै मलाई भोक छैन भनेर टार्थेँ ।म कक्षा आठमा पुगेपछि हजुर आमाको निधन भयो । त्यसपछिको हाम्रो दैनिकी झन कहालीलाग्दो भयो । आम्दानीको श्रोत नभएपछि मैले घर छोड्ने निर्णय गरेँ ।

गाउँघरबाट धेरै मान्छे पैसा कमाउन कालापार ( भारत ) जाने चलन छ । मैले म पनि पैसा कमाउन कालापार जान्छु भनेर स्कुल छोड्ने निर्णय गरेँ । म घर छोडेर हिँड्ने बेलामा आमा खुब रुनु भएको थियो । पढ्ने रहर हुँदाहुँदै पनि म परिबन्धमा फसेपछि कामको लागि पढाइ छोडेँ । तर पनि आमाले फोटा दिएर कक्षा नौ को फारम भरिदिनुभएछ । पछि आएर परीक्षा दिदा म पास भएछु । नौँ कक्षा ९ पढ्दा चौध बर्षको थिएँ । बा बितेको पनि पाँच बर्ष पुगेको थियो । मैले पैसा कमाउन कालापार जाने जिद्दी गरेपछि मामा छिमेकी अंकल सँग जाने भएँ । म जाँदा आमा मलाई अंगालो हालेर खुब रुनुभएको सम्झना छ ।

आँखामा पढ्ने नविन सपना बोकेको मान्छे म । परिवारको बाध्यता र विवशताको कारणले भारतको जम्मु कश्मिर राज्यको लदाख नजिकै पर्ने जास्र्कर जिल्लामा पैसा कमाउन हिडेँ । म हिँडेको धेरै समयसम्म पनि आमाले रुँदै समय विताउनुभएछ । त्यस पछिका म प्रत्येक बर्ष म भारत जान थालेँ । म भारत जान थाले देखि लोकसेवा वाहेका सबै रिजल्ट भारतमै हुँदा आएका छन । एस. एल. सी. पनि मैले उतै बाट आएर दिएको पास हुने आस राखेको थिइनँ । धन्न दोस्रो श्रेणीमा बाट पास भएछु । एस. एल. सी. को रिजल्ट आउँदा पनि म भारतमा थिएँ । त्यतिबेला म खासै इन्टरनेटको पहुँचमा थिइन । घरबाट आमाले फोन गरेर पास भएको खबर सुनाउनुभयो । मलाई निकै खुसी लाग्यो । आफूले रिजल्ट नहेरी विश्वास लागेन । साइबरमा गएर रिजल्ट हेर्न लगाएको म त साँच्चै पास भएको रहेछु ।

पछि म घर आएर सदरमुकाममा एघार कक्षामा भर्ना भएँ । भर्ना भएर एक महिना जति घरबाट कलेज गएँ । पछि परीक्षा दिएर भारतको गुजरात गएँ । मेरो दशैँ तिहार उतै वित्यो । लक्ष्मी पूजाको दिनको एउटा सम्झना छ । त्यस दिन म आमासँग फोनमा बोल्दा खुब रोएको थिएँ । मामा र आमाले सम्झाउँदै मलाई जसरी पनि पढ्नुपर्छ भनेर सम्झाउनुभयो । मनमा चिसो पस्यो ।

आफन्त तथा छिमेकीहरुले मलाई एउटै सल्लाह दिन्थेँ । बिहे गरेर विदेश जा । मेरो विदेश जाने सोच कहिल्यै पनि आएन । मेरो सोच थियो म नेपालमै केही गर्छु । सकभर सरकारी जागिर खान्छु नभए अरु नै केही गर्छु भन्ने थियो । ७४ मा भएको स्थानीय चुनावमा म म्यादी प्रहरी भएँ । केही दिनको आधारभूत तालिम गराएर हामीलाई मतदान केन्द्रमा खटाइयो ।

पहिलो चरणको स्थानीय तहको चुनाव सफलता पूर्वक सम्पन्न भयो । जाजरकोटका म्यादी प्रहरीलाई दोस्रो चरणको चुनावको लागि रोल्पा लैजाने तयारी भयो । तर रोल्पा जाने एक दिन अगाडि म्यादी प्रहरी नजाने नेपाल प्रहरी मात्रै जाने म्यादी प्रहरी जि.प्र.का तथा केही चौकीहरुमा गएर डिउटी गर्ने भन्ने खबर आयो । म जि.प्र.का. मै बसेँ । कहिले बसपार्क त कहिले जि.प्र.का. को पोष्ट्मा डिउटी हुन्थ्यो । दोस्रो चरणको चुनाव सम्पन्न भएपछि हामी घर फर्कियौँ । करिव तीन महिनाको पहिलो पटक सरकारी जागिरको अनुभव यही थियो । हुन केही बर्ष अघि गाउँकै स्कुलमा एकजना शिक्षिकाको सट्टामा मासिक २७ सय तलबले केही महिना पढाएँ । त्यही बर्षको अन्त्य तिर गाउँकै एउटा सहकारीमा कर्मचारी राख्ने कुरा चलेछ । सबैको सहमतिले मलाई नै राख्ने निर्णय गरेछन् । म काम गर्न थालेँ । करिब दुई महिना जति काम गरे गाउँकै एउटा शिक्षित व्यक्ति (जसको श्रीमती सहकारीको माथिल्लो पदमा हुनुहुन्छ ) मलाई उहाँले सधै जसो मैले लगाइदिएको जागिर भनेर भन्न थाल्नुभयो । सधैभरि उहाँले यसैगरी बोल्न थालेपछि मैले जागिर छोडिदिए । त्यसपछि मनमा इख लिएर आयोग पढ्न सुर्खेत जाने निर्णय गरेँ ।
‘‘
यी सब कुरा आमालाई बताएँ । उहाँले सहजै स्वीकार गर्नुभएन । आमाले भन्नुभयो, ‘कति धेरै बर्ष तयारी गरेर मान्छेले नाम निकाल्न सकेका छैनन, तँ कसरी एक बर्षमै निकाल्न सक्लास र ?’ मैले धेरै सम्झाएपछि आमा मन्जुर हुनुभयो । झोलामा डकुमेन्ट र गोजीमा दुई हजार बोकेर मनभरि सरकारी जागिर को आशा बोकेर म २०७५ साल जेष्ठ महिनाको ९ गतेका दिन प्रदेश राजधानी सुर्खेत लागेँ । सुर्खेतमा सँगै पढेको साथी नेप्लाईज लाई फोन गरेर भनेको थिएँ, ‘म पनि लोकसेवा तयारी गर्न आउँदै छु । मलाई साथ दिनु है ।’ उसले खुसी भएर मलाई साथ दिने वाचा गरेको थियो । मेरो साहित्यमा अलिअलि रहर थियो । ऊ पनि गजल लेख्थ्यो । कहालीलाग्दो वर्तमानमा उभिएर सुनौलो भविष्यको सपना देख्दै सुर्खेत पुगेर सपना पूरा गर्नका लागि दिनरात लागि परेँ । धेरै रात निदाइनँ, धेरै छाक खाइनँ । अभावभित्र पनि अवसर खोजेर सपना पूरा गर्न निरन्तर लागिरहेँ ।

सुर्खेत बस्दा मलाई कहिल्यै पनि घरबाट टाढा छु भन्ने लागेन । घरबेटीको माया र ममता धेरै पाएँ । यो सहरमा भगवान् जस्ता मान्छे पनि हुँदा रहेछन् ।

७६ को जेष्ठ १५ गते लोकसेवाले स्थानीय तहला लागि भारीमात्रामा विज्ञापन ग¥यो । हामी अझ धेरै तयारीका लागि दिपक , भिम र म काठमाडौ जाने तयारी ग¥यौँ । लोकसेवा पास गर्ने उद्देश्यले हामी काठमाडाैँ लाग्यौँ ।

हामी तिनै जनाको लागि काठमाडौ एकदम बिरानो थियौँ । त्यसकारण होस्टेल खोजेर बस्यौँ । होस्टेलको दाइ पनि पश्चिमकै हुनुहुँदो रहेछ ।
लोकसेवा पढ्न आएका हामी भिम, दिपक, दुर्गाराज र म एउटै कोठामा बस्थ्यौँ ।

काठमाडौँमा होस्टलमा बस्दा मलाई  कति खेर दिन हुन्छ ? घाम कति बेला लाग्छ केही थाहा हुँदैनथ्यो । मैले गरेको मेहनतले मैले तीन महिनामा नै सरकारी जागिर खान सफल भएँ । मैले नाम निकालेपछि मेरा पराइ भएका सबै आफन्त र साथी नजिक भए । अहिले लाग्छ , एक्लै हिँड्न सक्नेभएपनि हात समाउने मान्छेको भीड लाग्दो रहेछ ।

म अहिले म  हाल ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा  वडा सचिव पदमा कार्यरत छु । मैले जिन्दगीमा अझै धेरै संघर्ष गर्नुछ ।
यति भन्दा उनका आँखामा बेग्लै चमक देखिएको थियो

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार १०:५५
प्रतिक्रियाहरू