विनिमयको बजारमा हराएको प्रेम

विनिमयको बजारमा हराएको प्रेम

सुभद्रा ढकाल

@Mayur Times

२०७७ भदौ २४ गते बुधबार १२:५८

वर्तमान कालखण्डमा उपभोक्तावादी सँस्कृतिले लपक्कै गाँजेको छ । प्रत्येक व्यक्तिका आँखामा वस्तु विनिमय र व्यवसायिक चस्मा देखिन्छ । दुनियाँ स्वार्थको जरामा अडिएको छ । मानवीय अस्तित्व, मूल्य र मान्यतालाई बिर्सेको समाजबाट मन्जुषाले चोखो प्रेमवापत पीडा, वेदना र तिरस्कार मात्र उपहारमा पाएकी छे । यस उपन्यासका अंशमा सबुलाई कतै भेटिन्छ कि भेटिँदैन, मलाई थाहा छैन । तर उपन्यासले आम युवतीका पीडाको प्रतिविम्बन भने गरेको छ ।

मन्जुषा उपन्यास सबु सुवेदीद्वारा लेखिएको असफल प्रेमको यथार्थवादी उपन्यास हो । यस उपन्यास पृथक विषय र शैली अपनाइएको छ । गाउँकी समान्य परिवारमा हुर्किएकी मन्जुषा वोर्डिङ स्कुलमा पढाउन डेढ घण्टा साइकल यात्रा गर्नुपरेको अवस्थाबाट कथाको सुरु हुन्छ । यो मञ्जुषाको बाध्यता र विवशता हो । प्रेम कहानी यहीँबाट थालनी हुन्छ । त्यहाँ धोका हुन्छ । अर्का चरण आउँछन् । फेरि सहज र स्वाभाविक लाग्ने प्रेम र रसवस थालनी हुन्छ । त्यो पनि भङ्ग हुँदै क्रमिक रुपमा छ जनासम्म पुग्छ तर सबै विफल मात्र । यस उपन्यासमा बेग्लाबेग्लै छवटा वटा कथा रहेका छन् । एउटा कोठामा बसेर कल्पनाको सागरमा पौडिएर लेखिएको उपन्यास हैन । आम नारी जीवन र समाजबाट झिकिएको यथार्थपरक विषयबस्तु हो । साथै लेखकीय हराई र बुझाईको सचित्रता हो । उपन्यास पढ्न थालेपछि कौतूहल र जिज्ञासाले पाठकलाई मोहनी नै लगाउँछ । चरम धोकाको अवस्थामा पुगेपछि मञ्जुषाले आफ्नो विगतलाई चलचित्रझैँ हेर्छे । उपन्यासको भाषा सम्प्रेषणीय देखिन्छ । उनलाई प्रेम भन्ने वस्तुसँगै वितृष्णा बढ्छ । आखिर एउटा चार्चित लेखकमा पुगेर कथाको अन्त्य भएको छ ।

प्रस्तुत कथाको अङ्कन गर्दा, सामान्य परिवारकी केटीलाई केही बढी पारिश्रमिक दिने बाहानामा विनोदले भतिजको लागि होम ट्युसन पढाइदिने प्रस्ताव गर्छ । विनोद मन्जुषासँग नजिक हुन्छ । उसको गरीबीमाथि दया देखाएर उसको तन मन र चोखो जवानी समेत लुट्न सफल हुन्छ । आधुनिक प्रेमको खोल ओडेको विनोद र उसका परिवारले आर्थिक अहङ्कारले मञ्जुषाका लागि घरको ढोका बन्द गरिदिन्छन् । त्यसपछि ऊ क्रमशः सिद्धार्थ, गौरव, राजु र निगमसँगको प्रेमको नाटकमा पटकपटक फसेकी छे, टुटेकी छे र आफ्ना सबै कुरा गुमाएकी छे । नचाहँदा नचाहँदै पनि विवशताको दलदलमा ऊ फसेकी छ ।

यो वर्तमान समाजका नारीहरूको पीडा, दुःख र वेदनाको गहिराइबाट साहसपूर्वक शब्दमा उतारिएको अनौठो कथा हो । मञ्जुषाले विनोद, सिद्धार्थ, गौरव, राजु र निगमसँग विनास्वार्थ प्रेम गरेकी छे । पटकपटक ठगिएकी छे, दुखेकी छे । र धेरै पटक जिन्दगीको सुमधुर सपनाबाट विचलित भएकी छे । उसको प्रेमको ढुङ्गा नदीबीचमा ढल्पलाएको छ, जिन्दगी क्रमशः भुमरीमा फसेको छ । कथित चोखा प्रेममाथि उसको विश्वास एकपछि अर्को हुँदै टुटेको टुट्यै छ । ऊ फसेको फस्यै छ । कतै अस्वाभाविक घटनाजस्तो पनि लाग्दैन । सबै सहज तर सबै बिफल । केटाहरु सजिलैसँग प्रेममा पर्न सक्ने, प्र्रेम गर्न कुनै समस्या नहुने तर विवाह गर्ने जब समय आउँछ त्यहाँ धोकाको पर्खाल उठिहाल्छ । यो वर्तमान नेपाली समाजमा घटिरहेका डरलाग्दा समस्या हुन् । यिनले युवा युवतीका जीवनमा कुठाराघात गरिरहेका छन् । बाहिर हाँसेका देखिने अनुहारभित्रको मर्ममा डँढेलो सल्केको । त्यसैको उखुममा युवा पिँडी हुर्हुरी बलेको छ ।

उपन्यासमा जिन्दगीका केही सुखद क्षणहरू, छोटो समयमा भएको लामो प्रेम कहानी, बौद्विकता, प्रेमप्रतिको नयाँ दृष्टिकोण, राजनैतिक पीडा र यौवनका विषयबस्तुलाई सजाइएको छ । हरेक नारीको चाहाना हुन्छ । मन बुझेर माया गर्ने लोग्ने होस्, फूलजस्ता छोराछोरी हुन् तर ती कुरा मञ्जुषाका कल्पना मात्र सीमित भएका छन् । ऊ समाजकी सभ्य, सालीन र साहसी केटी हो । उसले स्याबासीभन्दा तिरस्कार पाई । मायाका नाममा कुण्ठा भेटी । उमेरको एउटा हद पार हुनलाग्दा बल्ल उसले संसार, समाज र जीवनलाई चिनी ।

आफूले देखेका सुन्दर सपनाबाट विमुख हुँदा पनि उसले आत्महत्याको कुनै योजना बनाएकी छैन । दुःखलाई भुलेर अर्को क्षितिजको खोजीमा रुमलिएकी छ । एउटी सामान्य नारी भएर परिवारप्रतिको दायित्व बहन गर्दै अगाडि बढेकीले उसलाई सभ्य, शिष्ट र सालीन नारीका रूपमा लिन सकिन्छ । ऊ साहसी र सङ्घर्षपूर्ण जीवन बाँचेकी छे । यो नै आमलोग्नेमान्छे र उसका प्रेमीप्रति खुल्ला चुनौती पूर्ण अभ्यासको सन्देस हो ।

प्रेम पवित्र बन्धन हो, दुई आत्माको सम्झौता हो । बजारिया प्रेम व्यापार मात्र हो । यस उपन्यास पढ्दै जाँदा मन्जुषाप्रति असीम माया पलाउँछ । उसले आफ्नो ज्यानभन्दा बढी प्यार गरेका मान्छेसमेत आफ्नो रहँदैन । मन्जुषा जिन्दगीका हरेक रहरलाई बन्धकीमा राखेर प्रेमको युद्व मैदानमा उत्रिएकी छे । विनोद, सिद्धार्थ, गौरव, राजु र निगमलाई ललकारेकी छ । धिक्कारेकी छ । मानिस, परिवेश र सोचाइ फरक भए तापनि हरेक युवकका व्यवहार उसलाई उस्तैउस्तै लाग्छन् । उपन्यासका अंशमा उसका विचार छरिएका छन्, माया आगो हो र यसले पोल्छ । सतर्क रहँदारहँदै पनि उही आगोमा जल्नपुग्नु बिडम्बना हो ।

वर्तमान कालखण्डमा उपभोक्तावादी सँस्कृतिले लपक्कै जाँजेको छ । प्रत्येक व्यक्तिका आँखामा वस्तु विनिमय र व्यवसायिक चस्मा देखिन्छ । दुनियाँ स्वार्थको जरामा अडिएको छ । मानवीय अस्तित्व, मूल्य र मान्यतालाई बिर्सेको समाजबाट मन्जुषाले चोखो प्रेमवापत पीडा, वेदना र तिरस्कार मात्र उपहारमा पाएकी छे । यस उपन्यासका अंशमा सबुलाई कतै भेटिन्छ कि भेटिँदैन, मलाई थाहा छैन । तर उपन्यासले आम युवतीका पीडाको प्रतिविम्बन भने गरेको छ ।

यो समाजले अविवाहित केटी र केटाको सम्बन्धाई स्विकार्न सक्दैन । उता केटा र केटी आफैँ गुम्सेर पाक्छन् । मञ्जुषाले गर्वका साथ भनेकी छ, मैले पाँच जनासँग प्रेम गरँे । प्रेमसम्बन्ध टुटेका अवस्थामा नारीले कस्तो निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने महत्वपूर्ण सन्देश उपन्यासले दिएको छ ।
हरेक मानिसलाई भोगाइका अनुभवले सचेत मात्र होइन, बलियो र कठोर पनि बनाउँछ । यहाँ साँचो प्रेमका नाटक गर्नेहरूको खिल्ली उडाइएको एउटा पाटो छ भने सच्चा मानिएको प्रेमले पनि धरधर रुवाएको परिदृश्यले पाठकलाई मञ्जुषाकै धरातलमा पु¥याइदिनु यो उपन्यासको सबल र सक्षम पक्ष हो । समाजमा कतिपय नारीहरूले आफ्नो प्रेमवारेका गोपनीयता अरुबाट लुकाउँछन् । मञ्जुषाले ती रहस्यलाई साहसका खोलेकी छिन् । उपन्यास पढ्दा यस्तो लाग्छ, यो आजका युवा युवतीको आफ्नै व्यथा हो ।

एउटा मननीय विषय यसमा छुटेझैँ लाग्छ । मन, मुटु दिएर माया गर्दा पनि किन र के कमजोरीका कारणले ऊ धोकाको दलदलमा भासिएकी छ ? भन्ने कुराको विश्लेषण लेखकले गरेकी छैनन् । यसको कारणसम्म पुगेर कथा बुन्न सकेको अझ राम्रो हुने थियो कि ? यहाँ मञ्जुषा पात्रका छुट्टैछुट्टै भोगाइ छन् । घटना फरक छन् । परिवेश र अवस्था पनि फरक छन् । तर सबै केटामान्छेप्रतिको एउटै धारणा किन रहेको होला ?
आफूले गरेको प्रेम सबैभन्दा चोखो र पीडा भने अरूको भन्दा बढी देखाउनु एउटा मानसिकता भनूँ, मनोविज्ञान हो । यहाँ विनास्वार्थ माया गरिएको तापनि केटीले आफ्नो कमजोरीलाई फर्केर हेरेको देखिँदैन । यस उपन्यासको अन्तरमा पसेर पढ्दा लाग्छ, त्यहाँ कुनै पनि केटाले उसलाई चोखो माया गरेका छैनन् । यो ऊभित्रको भ्रम मात्र हो भन्ने लाग्छ । हरेक प्रेमपछि विवाह नै हुनुपर्छ भन्ने छैन । यो वर्तमानका युवाको मनोविज्ञान हो । विवाह भएको मान्छेसँग प्रेम नै हुनुपर्छ भन्ने पनि छैन । आजको समयमा प्रेमलाई विवाहसँग जोडेर हेर्ने दृष्टिकोणमा परिवर्तन भएको अनुभव हुन्छ । विवाह केवल त्यो वेलाको सम्झौतासम्म हो । सम्झौता भनेपछि त्यसका सीमा र हद अवश्य हुन्छन् ।

हरेक कुरामा मञ्जुषा सक्षम नारी छे तर प्रेमको मामिलामा मात्र उसले किन हारेकी होली भन्ने प्रश्न बारबार उठ्छ । जे होस् पूर्ण कुनै कुरा हुँदैनन् । यो वर्तमान समाजको कथा हो । पाठकले जब यो उपन्यास पढ्छ, ठाउँठाउँमा उसलाई आफ्नै कथा पो हो कि भन्ने लागिरहनु लेखकको विशिष्ट लेखन हो ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १२:५८
प्रतिक्रियाहरू
तीन गजल

तीन गजल
२०७७ मङ्सिर १३ गते शनिवार ०७:४७

तीन गजल

तीन गजल
२०७७ मङ्सिर १२ गते शुक्रबार ०५:२४

गजल – धिरज स्मृतिपवन

गजल – धिरज स्मृतिपवन
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:५१

गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६