उपभोक्ता नै आश्चर्य चकित हुनेगरी घट्याे कुखुराकाे मासुकाे मूल्य

उपभोक्ता नै आश्चर्य चकित हुनेगरी घट्याे कुखुराकाे मासुकाे मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २० गते शनिवार ०२:१३

दुई महिनाअघि प्रतिकिलो चार सय रूपैयाँसम्म पुग्दा खुद्रा बिक्रेता भनिरहेका थिए- ‘डिलरमा कुखुरा नै पाइँदैन। भाउ अझै बढ्छ।’ तर, यतिबेला काठमाडौं उपत्यकामा भाउ यसरी ओह्रालो लागेको छ की उपभोक्ता नै आश्चर्यचकित छन्। कतै १६०, कतै १९०...

दुई महिनाअघि प्रतिकिलो चार सय रूपैयाँसम्म पुग्दा खुद्रा बिक्रेता भनिरहेका थिए- ‘डिलरमा कुखुरा नै पाइँदैन। भाउ अझै बढ्छ।’ तर, यतिबेला काठमाडौं उपत्यकामा भाउ यसरी ओह्रालो लागेको छ की उपभोक्ता नै आश्चर्यचकित छन्। कतै १६०, कतै १९० र कतै २२० मै पनि प्रतिकेजी खुद्रा बिक्री भइरहेको छ।

भाउ घट्दा उपभोक्ता खुसी छन्। सँगसँगै सशंकित पनि छन्-‘अहिले भाउ यसरी ओह्रालो लाग्दा पछि ह्वात्तै महंगिने हो की !’ उपभोक्ताको शंका स्वभाविक पनि छ। भाउ ओह्रालो लागेको लागेकै भए थोक र खुद्रा बिक्रेताले आफ्नो निश्चत नाफा जोगाएकै हुन्छन्, कुखुरापालकको लागत त उठ्छ ?

व्यवसायीहरूका अनुसार बोइलरको भाउ घट्नुका पछाडि केही खास कारणहरू छन्। आपूर्ति सहज हुनु, धेरैले बिक्री हुने देखेर खोरमा थपेका कुखुरा एकैपटक बजारमा पठाउनु, सोह्र श्राद्धले बिक्री घट्नु आदि प्रष्ट देखिने कारण हुन्। नदेखिने बलियो कारक भने खुद्रा बिक्रेताहरू आफैंले पनि ससाना पोल्ट्री खोलेर थोकबाट उठाउनुभन्दा आफ्नै खोरका कुखुरा बेच्न थाल्नु रहेको व्यवसायीको भनाइ छ। लकडाउनयता थुप्रै फ्रेसहाउस सञ्चालकले आफ्नै पोल्ट्री राखेका छन्।

मूल्य बढ्दा उपभोक्ताको गुनासोमा बजार अनुगमन गर्ने सरकारी निकाय उपभोक्ता हित संरक्षण समिति यतिबेला चुप बसेको छ। बजारमा सस्तिँदै जाँदाको असर किसानहरूलाई परेको छ। लागत पनि नउठ्ने भाउमा उनीहरूले बिचौलियालाई बेच्नु परिरहेको छ।

पोल्ट्री संघले गत शुक्रबार उपभोक्ता मूल्य प्रतिकेजी २४० रुपैयाँ तोकेको थियो। त्यसपछि मूल्य नघटेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए। ‘मनपरी गरे बजार बिग्रिन्छ,’ उनले भने, ‘लागत नै नउठ्ने भाउमा बेच्न थालेपछि यतिबेला पाइएको छ, सधैं यसरी सजिलै सस्तो पाइन्छ भन्ने हुँदैन।’ भाउ सस्तिएर लागत नै नउठ्ने अवस्था आउँदा कुखुरापालकले खोरमा चल्ला हाल्न कम गर्दै लैजाने उनले बताए।

पोल्ट्री संघले जिउँदो बोइलर कुखुरा प्रतिकेजी १७० रुपैयाँ तोकेको छ। यतिबेला बजारमा जिउँदो कुखुराको मूल्य १०० रुपैयाँदेखि १५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। पोल्ट्री संघले उत्पादन र बजारको माग अनुसार मूल्य निर्धारण गर्दै आएको छ। तर व्यवसयीहरुले बजारमा आइरहेको असंगठित क्षेत्रको उत्पादन छिटो छिटो बेच्न संघले तोकेकोभन्दा निकै सस्तोमा बेचिरहेका छन्।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १४:१३
प्रतिक्रियाहरू