आधा खुसी

आधा खुसी

सुभद्रा ढकाल

@Mayur Times

२०७७ भदौ १९ गते शुक्रबार १०:५४

फेसबुकमा तिमीलाइ सर्च गरेर हेरेँ । तिमी फोटोमा निकै खुसी थियौ । तिम्र्रो मनमा के थियो म जान्दिनँ । फोटो देखेर अनुमान लगाएँ, तिमी निकै खुसी छाै । मलाई लाग्यो, तिमी खुसी छौ भने मैले मन सानो बनाउन हुँदैन । तिमीलाई सफलताको कामना गर्दै म करिअर फोकस हुन थालेँ ।’

एउटा नयाँ मेल आएको रहेछ । साकारले लेखेको । उसको नाम देख्ने बित्तिकै मेरो मुटुको हलचल निकै बढ्यो । चार वर्षअघिको सम्झना छ । म केही पनि बुझ्न सक्दिनँ । श्रीमान् घर आउने बेला भयो । उसको लामो इमेल कसरी पढूँ ? मलाई छटपटीमात्र भयो । त्यो इमेल डाउनलोड गरुँ कि नगरुँ ? दोधारमा फसेँ ।

बाहिर काेही आएजस्ताे लाग्याे हतारहतार ल्यापटप अफ गरेर ढोका खोल्नतिर लम्कन्छु ।

सधैँ देख्ने श्रीमान्लाई म किनकिन नयाँ रुपमा देख्छु । त्यो मोहक अनुहार आज डरलाग्दो देख्छु । मुटुको धड्कन तीव्र हुन्छ । ओठ थरथर काप्छन् ।

उहाँले तुरुन्तै सोध्नुभयो, के भयो कन्चन रु सन्चो छैन कि ?

हैन मलाई ठीक छ । केही भएको छैन ।’ उहाँलाई सजिलै ढाँट्न खोज्छु । तर आफ्नै मनलाई झुट बोल्न सक्दिनँ ।

उहाँलाई खाना खुवाउँछु । आराम गर्ने बानी छ । उहाँ निदाउनु हुन्छ । कति निर्दोष, कति निश्चल छ उहाँको मन ।

तर, मलाई रातभर निद्रा लाग्दैन । विगतका सम्झना आँखाभरि आउँछन् । कस्तो भयो होला साकार ? चार वर्ष भयो मैले उसलाई नदेखेको । उसलाई लाग्दो होला, मैले उसलाई धोका दिएँ । तर उसलाई मैले कसरी विश्वास दिलाऊँ, यो धोका नियतिले दिएको हो । म घर र समाजको मर्यादाभित्र हराएर उसलाई बिर्सेजस्तो गर्न पुगेकी हुँ । तर कुनै पनि रात नहोला मैले उसलाई बिर्सेर निदाएको । कुनै सपना छैन उसलाई नदेखेको । कुनै पल छैन उसलाई बेवास्ता गरेको । तर मैले उसलाई यी कुनै पनि कुराको आभास कहाँ होला र ? जिन्दगीभरि उसलाई मेरो बाध्यताको आभास नहोस् भन्ने चाहन्छु म पनि ।

जिन्दगी आफ्नै लयमा चलिरहेको बेला । मलाई उसको मेलले फेरि एकपटक सोच्न बाध्य बनायो । के लेखेको होला उसले ? मेलमा आफ्नो जिन्दगीको व्यथा होला कि हाम्रो प्रेमकथा ? खुसीको कहानी कि दुःखको सन्देश ? हे भगवान् उसले मेलमा लेखेको होस् कि मैले विगतका सबै कुरा भुलिसकेँ कन्चन । मलाई केही कुरा याद छैन ।

सोच्दासोच्दै बिहानको चार बजेछ । सँगै सुतेका श्रीमान् मिठो निद्रामा छन् । उनलाई अहिलेसम्म छटपटीमा देखको छैन । कुनै कुरा बताउन पनि चाहँदैनन् । हाम्रो ओछ्यान एउटै छ । हजारपटक शरीर पनि साटिएको छ । तर अफसोच चार वर्षको समयमा हाम्रो मन साटिएको छैन । म यो विवाहलाई सम्झौताभन्दा माथि राखेर हेर्न सक्दिनँ ।

म हरेक रात यसैगरी तड्पन्छु । छट्पन्छु । तर उहाँले के भयो ? भनेर एकपटक पनि सोधेको याद छैन । यदि उहाँको ठाउँमा साकार भैदिएको भए ? म उसको छातीमा टाँसिएर कति रुन्थेँ होला ? एकपटक पाउने जिन्दगी पनि किन म मरीमरी बाँचेकी छु ।

मेरो मनमा आँधी चले पनि समय उही गतिमा चलेको छ । म यो पीडाको आभास कसैलाई पनि हुन दिन्नँ । मैले यसलाई छातीभित्र नै लुकाउनु पर्ने छ । दुनियाँका लागि मुस्कुराउनुपर्नेछ ।

खाना खाएर श्रीमान् अफिस जानुहुन्छु । छोरीलाई बेबी केयरमा छाडेर मलाई कलेज जानु छ । तर म कतै जान सकिनँ । मलाई विगतले झस्काइरहन्छ । मैले जसरी पनि भुल्नु छ ती दिन । समाहित हुनु छ कसैको खुसीसँग । कतै जोडिएका छन् मेरा खुसीहरु पनि । मैले नजिकबाट बुझेको छु आफैँलाई । तर किनकिन मन अचेतनतिर डौडन खोजिरहेछ ।

मुस्किलले साकारकोे मेल पढ्न खोज्छु । मेरो ओठ कापिँरहेछन् । केही भन्न खोज्छु । आफैँसँग प्रश्न गर्न खोज्छु सक्दिनँ ।

उसले लेखेको छ,

म हिजो साँझ काठमाडौँ आइपुगेँ । तिम्रो त्यही रुप जसलाई छोडेर जापान गएको थिएँ । पक्कै त्यही रुपमा छ्यौ होला ? उता जानु अघिकाे वाचा पनि पक्कै भुलेकी छैनौ । मलाई तिम्रा थोपाथोपा आँसुको सम्झना छ । म उड्ने साँझ तिमी खुब रोएकी थियौ । मलाई थाहा थिएन, तिमी यति भावुक हुन्छौ । त्यसबेला मेरो मनले सोचेकी तिमी र वास्तविक तिमीमा मैले निकै अन्तर पाएको थिएँ । तिम्रो आँसु देख्दा मलाई लागेको थियो, यो पासपोर्ट र टिकट तुरुन्तै च्यातिदिम् र तिम्रो अँगालोमा बेरिएर बसूँ । तिमीसँग विवाह गरुँ । तर मेरोअगाडि परिवारको भविष्य जोडिएको थियो । तिमीलाई पनि सुख दिनु थियो । पढेर छिट्टै नेपाल आउँछु र तिमीसँग रमाउँछु, सोचेथेँ । पछि साथीबाट सुनेँ, तिमीले त विवाह पो गरेछौ हैन ?

आफ्नो मान्छेको सुखद समाचार अरुबाट सुन्दा निकै दुखेँ । केही हप्ता नरमाइलो लाग्यो । मेरो सेकेन्ड सेमेस्टरको इक्जाम नमज्जासँग बिग्रियो । एक मनमा लाग्यो, नेपाल जाऊँ । तर तिमीलाई गुमाइसकेपछि यहाँ आए पनि के फाइदा ?

तिमी बेहुली भएको हेर्ने ठुलो रहर थियो । फेसबुकमा तिमीलाइ सर्च गरेर हेरेँ । तिमी फोटोमा निकै खुसी थियौ । तिम्र्रो मनमा के थियो म जान्दिनँ । फोटो देखेर अनुमान लगाएँ, तिमी निकै खुसी छाै । मलाई लाग्यो, तिमी खुसी छौ भने मैले मन सानो बनाउन हुँदैन । तिमीलाई सफलताको कामना गर्दै म करिअर फोकस हुन थालेँ ।’

उसको मेल पढ्दा पढ्दै मुटुमा भक्कानो फुट्यो । मैले पनि उसको खुसीका लागि आफ्ना बाध्यताहरु सुनाउन नचाहेकी थिएँ । म भित्रको म कति दुखी छ भनेर म उसलाई आभाससमेत हुन दिने छैन ।

डियर कन्चन, प्रेम र विवाह अलग पाटा हुन् । यस्तै सोचेर म तिमीलाई भुल्न विवश भएकी थिएँ ।

चार वर्षपछि आफ्नै देश टेक्न पाउँदा खुसी लाग्यो । फेरि अर्को मनले तिमीलाई सम्झियो, पराईको आँगन टेकेकी तिमी कस्ती भयौ हौली ?

साँझमा राजधानीका झलमल्ल उज्यालो । तर मेरो मनको अँध्यारो बस्तीमा लुकेकी तिमीलाई धेरैपटक फोन गर्ने कोसिस गरेँ । किनकिन नम्बर डायल गर्नुभन्दा भन्दा अगाडि निकै पटक हात कामेँ । हुनसक्छ यो पनि मैले तिमीलाई गरेको अथाह प्रेम हो । तिमीले प्रेमबारे बेग्लै तर्क गर्न सक्छ्यौ । अँ साँच्चि, तिमी त लेक्चर मान्छे । तिमीले आफ्ना विद्यार्थीलाई बुझाउने तरिका अलि फरक पनि होला ? मैले तिम्रा हरेक आँसुलाई मुटुमा राखेर तिम्रै सपना पूरा गर्नका लागि निरन्तर काम गरेको थिए । अपसोच, अहिले हामी नदीको दुई किनारा भएर हिँँड्नु परेको समय हो । न हाम्रो मिलन सम्भव छ न हामी छुट्टिन सक्छौँ । तिम्रो वैवाहिक जिन्दगीलाई म कुनै पनि असर पु¥याउन चाहन्नँ । एकपटक तिमीलाई भेट्नेमात्र इच्छा छ । म एक सातको दिनको लागि मात्रै नेपाल आएको हुँ । म तिमीलाई नभेटी अरु कसैलाई भेट्न सक्दिनँ । म तिम्रो प्रतीक्षामा हुन्छु, डिल्लीबजारको आराधना क्याफे दिउँसोको दुई बजे ल ।

उसको मेलको आशयले नर्भस भएँ । के सोचूँ के गरुँ भएँ ? दिउँसो छोरीलाई बेबी केयरमा लिन जानुपर्छ । उसलाई भेट्ने यही सुन्दर अवसर हो । जिन्दगी नमज्जासँग दोधारमा भासियो ।

छोरीको भन्दा साकारको मायाले म तानिएँ । बहिनीलाई फोन गरेँ । छोरी लिन जाऊ भनेर म साकारलाई भेट्न निस्किएँ ।
नयाँ वानेश्वरबाट नेपाल यतायत चढेँ । मनमा धेरै तर्कना आए । कस्तो भयो होला साकार ? कसरी बितायो होला विदेशमा चार वर्ष । म कसरी सम्हालिन्छु होला ? उसलाई भेटेपछि । हे भगवान् यो कस्तो परीक्षा लिदै छ मेरो जिन्दगीले ।

पुतलीसडकमा बसबाट झर्दा लगभग म पागलजस्तै थिएँ । के उत्तर दिऊँ म साकारलाई ? मैले जानेर उसलाई धोका दिएकी हैन । म परिबन्दमा परेकी हुँ । तर मैले उसलाई मेरो दुख नसुनाउने र सुखको मात्रै कुरा गर्ने निर्णय गरेँ ।

म पुग्दा ऊ आइसकेको रहेछ । मलाई देखेर अँध्यारो मुस्कुरायो । झन्डैझन्डै मेरा आँखाबाट आँसु बगिसकेको थियो मुस्किलले रोकेँ ।

झुस्स पारेको दारी । जिङ्ग्रीङ्ग पालेको कपाल । कति धेरै उदासजस्तो । मलाई हेरी मात्रै रह्यो ।

विना संवाद बस्न मलाई राम्रो लागेन । मैले भनेँ, के हो साकार, तिमी कहिल्यै ऐना हेर्दैनौ ?’

कहिलेकहीँ हेर्छु । किन तिमीले मलाई राम्रो देखिनौँ ?

म उसलाई किन नराम्रो देख्थेँ र रु मैले उसलाई राम्रो देखेर मन पराएकी हैन । मन पराएर राम्रो देखेको थेँ ।

उसले थप्यो, अचेल ऐना हेर्न खासै जाँगर चल्दैन । बुढेसकाल लाग्यो नि त ।’ ऊ हाँस्न खोज्यो । अहँ पटक्कै सुहाएन ।

मैले उसका कुरा सुनेँ मात्र । बढी मैले संवाद अगाडि बढाउन सकिनँ । के बोलूँ, के बोलूँको दोमनमा फसिरहेँ ।

क्रमश ः

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार १०:५४
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४