प्रधानमन्त्रीद्वारा देशबासिकाे नाममा सम्बाेधन, के देलान त राजिनामा ?

प्रधानमन्त्रीद्वारा देशबासिकाे नाममा सम्बाेधन, के देलान त राजिनामा ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १२ गते बुधबार ०८:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ । उनले देशबासीका नाममा सम्बोधन गरेर राजीनामा गर्ने गरी तयारी भइरहेको छ । विधानतः नेकपा एक भएको अवस्थामा प्रधानमन्त्री ओलीलाई...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

उनले देशबासीका नाममा सम्बोधन गरेर राजीनामा गर्ने गरी तयारी भइरहेको छ । विधानतः नेकपा एक भएको अवस्थामा प्रधानमन्त्री ओलीलाई सहज रुपमा राजीनामा दिन दाहाल–नेपाल पक्षले सुझाएको छ ।

तर, प्रधानमन्त्री निकट वरिपरिको सचिवालयले उनलाई राजीनामा नदिन भनिरहेको छ । न्यायालयको सम्मान गर्ने बताएका प्रधानमन्त्री ओलीले स्वविवेकले राजीनामाको तयारी गर्दैछन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो रहेको छ ।

तीन वर्ष नमिल्दै फरक–फरक बाटो समातेको नेकपालाई यतिबेला निकै सकस भएको छ । सकसको लडाइँ भइरहेको यो अवस्थामा न्यायालयले आफ्नो बलियो उपस्थिति देखाएपछि ओली पक्षधरलाई समस्या भएको छ ।

अब, नेकपा मिल्नुको विकल्प नभएको ओली पक्षकै नेताले आवाज उठाउन थालेका छन् । जनताको जित भएको बेला ओली पक्षका केही अराजक मानसिकता बोकेका पात्रलाई हटाएर फ्रेस दिमागलाई भित्र्याउनुपर्ने दाहाल–नेपाल पक्षका कार्यकर्ताको भनाइ छ ।

प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ । सडक आन्दोलनदेखि जनप्रदर्शनसम्मा उनीहरुले अलग–अलग पार्टीको अभ्यास गरिसकेका छन् ।

निर्वाचन आयोगले दुबै समूहलाई हालसम्म आधिकारिकता नदिएकाले कानुनी रुपमा नेकपाको हैसियत एउटै छ ।

त्यसैले अब प्रतिनिधिसभामा नेकपाको हैसियत के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । कसरी अघि बढ्ने भन्नेमा दुबै समूहका केही नेताहरुले मंगलबारै अनौपचारिक छलफल थालिसकेका छन् ।
नेकपाको एक शक्तिको प्रतिनिधित्व गरेका ओलीले सिंगो कार्यकर्ताको एक पंक्तिलाई सही निकास दिनुपर्ने चुनौति थपिएको छ ।

ओलीले अहिले निकास दिएर सबै कार्यकर्ताको भविक्ष्य सुनिश्चित गर्न सकेनन् भने उनलाई तिनै कार्यकर्ताले गलत्याउने पक्का छ ।

यता, संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको प्रधानमन्त्री पद धरापमा परेको छ ।

सत्ताच्युत भएसँगै अब ओलीले चलाउने नेकपाको गुटसमेत धरासायी बन्ने मनोवैज्ञानिक संकेत देखिएको छ ।

संसद् भंग गरेकै कारण विभाजित भएको नेकपाको एउटा घटक दाहाल–नेपाल पक्षका नेताहरुले अदालतको फैसलालाई आफ्नो जित मानेका छन् ।

सँगसँगै अर्को प्रश्न पनि छ– राजनीतिको ‘ब्याटल’ मा पराजित भएका प्रधानमन्त्री ओलीले अब के गर्लान् ? उनी सरक्क बालकोटमा गएर आराम गर्नेछन् या नेकपा फुटाएर बेग्लै गुट चलाउनेतिर लाग्लान् ?

ओली इतर समूहका नेता रघुजी पन्त अब प्रधानमन्त्री ओलीले नेकपाको एकता जोगाउनका लागि भूमिका खेल्नुपर्ने बताउँछन् ।

उनी ओलीले तत्काल राजीनामा दिएमा अझै पनि पार्टी एकता जोगिने र नेकपाकै बहुमतको सरकार बन्ने सम्भावना देख्छन् ।

अब नेकपाको पार्टी एकता जोगाउने हो भने ओलीले विदा लिनुपर्ने दाहाल–नेपाल पक्षका नेताहरु बताउँछन् ।

सर्वोच्चले संसद् ब्युँताइदिएको र नेकपालाई पाँच वर्ष सरकार चलाउने जनमत दिएकाले ओलीले तत्काल राजीनामा दिएर आराम गर्नु उपयुक्त हुने तर्क ओली समूहकै एक नेता गर्छन् ।

संसद् विघटनलगत्तै मन्त्रीबाट राजीनामा दिएका घनश्याम भुसाल केपी ओलीले घाइते बनाएको पार्टी एकता जोगिनेमा बढी नै विश्वस्त देखिएका छन् ।

तर, ओलीले राजीनामा नदिँदा भने उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र त्यसलाई पारित गर्न संसदमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को पनि साथ लिनुपर्ने हुन्छ ।
आेके जनता अनलाइनबाट

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार ०८:३७
प्रतिक्रियाहरू