संसद विघटनको प्रतिगामी कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति चितवनले फागुन १२ गते भरतपुर केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको जनसभाको लागि नेकपा अध्यक्ष प्रचण्ड र माधबकुमार नेपाल अाजै भरपुर पुगेका छन!
पार्टी कार्यालय कृष्णपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिगमनविरुद्ध संघर्ष समितिको शनिबार सम्पन्न बैठकले विशाल जनसभा भव्यरुपमा सफल बनाउने निर्णय गरेको हो ।

भाेलि हुन गइरहेको विशाल जनसभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको र सभामा ३० हजारभन्दा बढी जनसमुदाय सहभागी बनाइने जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।
पार्टीका प्रचार बिभाग प्रमुख रामचन्द्र अधिकारीका अनुसार जनसभा अघि भरतपुरका विभिन्न ठाउँबाट जुलुस निस्कनेछ । चौबिसकोठिबाट सुरु हुने जुलुसमा भरतपुर १ देखि ४, १५ देखि २० र २४ देखि २८ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् ।
मालपोत चोकबाट सुरु हुने जुलुसमा कालिका नपा, ईच्छाकामना गाउँपालिका, भरतपुर १० देखि १२ र २९ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । त्यसैगरी बुद्धचोकबाट सुरु हुने जुलुसमा माडी नपा, भरतपुर ५ देखि ८, १३, १४ र २१ देखि २३ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् ।
गोन्द्राङबाट सुरु हुने जुलुसमा राप्ती नपा, खैरहनि नपा, रत्ननगर नपा,र भरतपुर ९ का जनसमुदाय सहभागी हुनेछन् । यसका साथै मजदुर, युवा, बिधार्थी, महिला, दलित, सुकुम्बासी, उद्योगी, ब्यवसायी, शिक्षक, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, नागरिक समाजका सबै जनसमुदायमा जुलुस र सभामा सहभागी हुन नेकपा चितवनले अपिल गरेको छ ।
प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १८:०२