नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरको आयोजनामा फिदिम बजारमा आज (शुक्रबार) वृहत जनसभा सम्पन्न भएको छ ।
सभालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय टोपबहादुर रायमाझी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्ग, नेकपा केन्द्रिय सदस्य अइन्द्रसुन्दर नेम्बाङ्ग लगायत नेताहरुले सम्बोधन गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै उर्जा मन्त्री रायमाझीले सूर्य चुनाव चिन्ह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा बाहेकले दाबी गर्न नमिल्ने बताउनु भयो । भन्नुभयो “प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दाबी गर्न मिल्छ”
उहाँले प्रचण्ड-माधव समूहले हँसिया हथौडा भने दाबी गर्न सक्ने बताउनु भयोे “बरु उहाँले हसिया हथौडा चुनाव चिन्ह माग्न सुहाउँछ, सूर्य चिन्हबाट चुनाव लड्ने हो भने प्रधानमन्त्री केपी ओलीले टिकट दिनुपर्छ ।”
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्गले समृद्धिको यात्रा रोक्न चाहानेहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने षडयन्त्र बुने पनि पुरा नभएको बताउनु भयो ।
उहाँले ताजा जनादेशका लागि निर्वाचनमा जुट्न जिल्लावासीलाई आह्वान समेत गर्नुभयो ।
मन्त्री नेम्बाङ्गले विगतको तुलनामा यो सरकारले भौतिक पूर्वाधार विकासलाई तीव्रता दिएको उल्लेख गदैै हाल सरकार ठूलाठूला पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाई रहेको बताउनु भयो ।
उहाँले आफ्नो गृहजिल्ला पाँचथरको समग्र विकासको बारेमा समेत चर्चा गर्नु भएको थियो ।
प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार ०७:४०