अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले उपभोक्ता मूल्य भने मनपरी रूपमा लिने गरेका छन् । अण्डाको मूल्य घटेको १ साताभन्दा बढी समय भइसक्दा पनि व्यापारीहरूले उपभोक्तालाई विक्री गर्ने मूल्यमा भने कुनै हेरफेर गरेका छैनन् ।
नेपाल अण्डा उत्पादक संघले दिएको जानकारीअनुसार करीब १ सातायता ठूलो अण्डाको गेट मूल्य प्रतिक्यारेट १५ रुपैयाँले घटेर ३ सय ४० बाट ३ सय २५ रुपैयाँ कायम भएको छ । त्यसैगरी सानो अण्डाको मूल्य प्रतिक्यारेट ३ सय १० रुपैयाँबाट घटेर ३ सय रुपैयाँ कायम भएको छ । तर, उपभोक्ताले प्रतिक्यारेट ४ सय रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ ।
घटेको मूल्यअनुसार उपभोक्तालाई व्यापारीले सानो अण्डाको मूल्य बढीमा प्रतिअण्डा १२ रुपैयाँ र ठूलो अण्डा १३ रुपैयाँसम्ममा विक्री गर्नुपर्ने हो । तर, व्यापारीले सानो र ठूलो दुवै अण्डाको मूल्य प्रतिगोटा १५ रुपैयाँसम्मले विक्री गरिरहेको पाइएको छ । अहिले अण्डाको उत्पादन बढेकाले मूल्य घटेको संघले बताएको छ । यो समाचार सेताेपाटिमा प्रकाशित छ ।
प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार १०:२३