संगीत र जनावरहरुको यस्तो अनौठो सम्वन्ध,मानिसहरु जस्तै आनन्द लिने क्षमता

संगीत र जनावरहरुको यस्तो अनौठो सम्वन्ध,मानिसहरु जस्तै आनन्द लिने क्षमता

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २१ गते बुधबार ०७:४०

संगीतले मानिसको हृदयलाई त स्पर्श गर्छ नै, यसले प्रकृतिका अन्य जिवजन्तुलाई पनि प्रभावित तुल्याउन सक्ने विभिन्न अध्ययनबाट पुष्टि भएका छन् । कुकुरदेखि बाँदर र हात्तीदेखि परेवासम्ममा संगीतको असर पर्ने अध्ययनमा संलग्नहरु बताउँछन्...

संगीतले मानिसको हृदयलाई त स्पर्श गर्छ नै, यसले प्रकृतिका अन्य जिवजन्तुलाई पनि प्रभावित तुल्याउन सक्ने विभिन्न अध्ययनबाट पुष्टि भएका छन् । कुकुरदेखि बाँदर र हात्तीदेखि परेवासम्ममा संगीतको असर पर्ने अध्ययनमा संलग्नहरु बताउँछन् । यहाँ हामीले वैज्ञानिक अध्ययनबाट देखिएका केही तथ्यहरु प्रस्तुत गर्दैछौं :

१. ककुर

सन् २०१२ मा अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीले १ सय १७ वटा घरपालुवा कुकुरहरुमाथि अध्ययन गरेको थियो । अध्ययनकर्ताहरुले फरक–फरक विधाका गीतहरु कुकुरहरुलाई सुनाएका थिए । त्यसमध्ये कुकुरहरुमा शास्त्रीय संगीतको अत्यधिक प्रभाव देखिएको थियो । शास्त्रीय संगीत बजाउँदा धेरैजसो कुकुरहरु निदाएका थिए । यस्तो संगीतले कुकुरहरुको मस्तिष्कलाई आराम दिने निस्कर्ष अध्ययनबाट निकालिएको थियो ।

२. बाँदर

सन् २००९ मा गरिएको अध्ययनले बाँदरहरुमा पनि संगीतको असर देखियो । यस्तो असर खुट्याउन भने अध्ययनकर्ताहरुलाई गाह्रो परेको थियो । ‘बायोलोजी लेटर्स’ नामक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अध्ययनकर्ताहरुले थुप्रै विधाका गीत बजाउँदा बाँदरले वेवास्ता गरेका थिए । तर मेटल गीत बजाउँदा भने उनीहरुमा प्रतिक्रिया देखियो ।

३. गाई
३. सन् २००१ मा युनिभर्सिटी अफ लिसेस्टरका अध्ययनकर्ताहरुले एक हजार गाईमाथि अध्ययन गरेका थिए । नौ हप्ता लगाएर गरिएको अध्ययनका क्रममा गाईले सुन्ने गरी दैनि१२ घन्टा विभिन्न विधाका संगीत बजाइएको थियो । यस अवधिमा ती गाईहरुले सामान्य अवस्थामा भन्दा बढी दूध दिएको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

४. हात्ती

हात्तीहरुले आफ्नो सुँडको सहायताले पेन्टिङ गरेको भिडियो त हामीले हेरेका छौं । संगीतमा पनि उनीहरुको झुकाव रहेको एउटा अध्ययनले देखाएको छ । सन् २००८ मा थाइल्यान्डमा गरिएको अध्ययनका क्रममा भायोलिन बजाउँदा हात्तीहरुले आनन्द मानेर आफ्नो सुँड उचालेका थिए । हात्तीहरुलाई शान्त अवस्थामा ल्याउन संगीतले सहयोग गर्न सक्ने अध्ययनको निस्कर्ष छ ।

५. चरा

चराहरु त गीत सुन्ने मात्र होइन, आफैं गाउन पनि सक्छन् । एक अध्ययनले मानिसपछि सबैभन्दा बढी संगीतको प्रभाव चराहरुमा पर्ने देखाएको छ । सन् २००५ मा २० वटा भाले र पोथी भँगेरामाथि अध्ययन गरिएको थियो । भालेको तुलनामा पोथी भँगेरामा संगीतले अझै बढी प्रभाव पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

६. लामखुट्टे

हालै मात्र गरिएको एक अध्ययनले लामखुट्टेमा पनि संगीतको प्रभाव पर्ने देखिएको छ । संगीत बजेको बेला लामखुट्टेले मान्छेलाई टोक्ने सम्भावना अरु बेलाभन्दा कम हुने अध्ययनको निष्कर्ष छ । यति मात्र होइन, संगीत सुनिरहेको बेला लामखुट्टे सहवास गर्न पनि नरुचाउने अध्ययनकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार ०७:४०
प्रतिक्रियाहरू