गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन

हरिश जोशी

@Mayur Times

२०७७ माघ ६ गते मङ्गलबार ११:११

कसले भन्यो र तिमिलाई यी नजरमा बस्नु। तिमी फूल हौ पृया फूलकै कदरमा बस्नु। मान्छेका मनहरु पापै पापले भरिए पछि भगवानलाई बाध्यता भयो पत्थरमा बस्नु। नेपाली साहित्यमा १० बर्षको उमेर देखि लाग्नुभएका गजलकार नवराज कुन्दनका गजलका...

कसले भन्यो र तिमिलाई यी नजरमा बस्नु।
तिमी फूल हौ पृया फूलकै कदरमा बस्नु।

मान्छेका मनहरु पापै पापले भरिए पछि
भगवानलाई बाध्यता भयो पत्थरमा बस्नु।
नेपाली साहित्यमा १० बर्षको उमेर देखि लाग्नुभएका गजलकार नवराज कुन्दनका गजलका एजन शेरहरुले मलाई लोभ्यायो अनि उहाँ र उहाँको बारेमा अलिअलि खोजी गर्न थाले ।
बि . स २०४५ साल साउन १० गते शुभकालिका गाउँपालिका ६ हाउडिमा जन्मनुभएका गजलकार नवराज आचार्यको साहित्यिक नाम नवराज कुन्दन हो ।
सानै उमेरदेखी साहित्य भने पछि हुरुक्कै हुने उहाँ २०६० सालमा कर्णाली प्रदेशको राजधानी सुर्खेत झरेसँगै नेपाली गजल लेखनमा सक्रिय रुपमा लागिपरेका हुन। अध्ययनको पाटो फराकिलो बनाउँदै उहाँले शिक्षा क्याम्पस सुर्खेतबाट अङ्ग्रेजी बिषयमा एम एड गरिसक्नुभएको छ ।
हाल शुभ कालिका गाउँपालिका कालिकोटमा शिक्षा अधिकृत रहनुभएका उहाँ कर्तव्यनिष्ठ भएर जनताको सेवा पनि गरिरहेका छन। कारुणिक पारिवारिक पृष्ठभुमि र सांस्कृतिक पृष्ठभुमिका कारण उहाँ साहित्य सम्म पुगेका हुन । उहाँ गजलमा सामाजिक बिषयबस्तुको उठान निकै गहकिलो गर्ने गजलकार हुन।हाल गजल क्षेत्रमा समग्र कर्णालीको प्रतिनिधित्व गर्दै शशक्त गजलकारको रुपमा परिचित गजलकार कुन्दन नयाँ र कसैले नउठाएका बिषयबस्तुको उठान गर्ने एक परिपक्व गजलकार हुन।समाजमा भएका घटनाहरुलाइ टपक्क टिपेर गजलमा उतार्न माहिर गजलकार नवराज कुन्दनको गजलिय लेखन तलको गजलले झन प्रष्ट दर्शाउँछ ।

चिर्नलाई गाउँको सुन्दर अस्तित्व बिलेट बोकेर।
दुषित हावा छिरेको छ गाउमा इन्टरनेट बोकेर।

भोक बोकेर साहुको मेलामा गएकी थिईन
साँझ घर फर्केर आईन साहुकै पेट बोकेर।

आज उसैका लागि कात्रो लिएर फर्किए बा
सधै फर्किन्थे जुन छोरालाई चक्लेट बोकेर

मृत्युको म्याराथन दौडिन ककस्लाई रहर छ
आउनुहोस अभ्यास गरौ हातमा सिग्रेट बोकेर।

उहाँका गजलमा गाउँ समाजको परिवेश मात्र झल्केको छैन तिनै गाउँसमाज घट्ने तिता मिठा घट्नाहरु पनि छताछुल्ल भएका छ्न । सामाजिक न्यायका निम्ति उहाँका गजलले आह्वान गरेका हुन्छन । पोलिने गरि उहाँको गजलको शेरले भनेको छ मृत्युको म्याराथन दौड्न क- कसलाई रहर छ, झट्ट सुन्दा मिठो लागेपनी यो पोल्ने वाक्य हो जसलाई उहाँले मिसरा ए उला बनाएका छन भने “आउनुहोस अभ्यास गरौ हातमा सिग्रेट बोकेर” भन्दै ब्यग्य प्रहार गर्दै मिसरा ए सानी लाई निकै दमदार रुपमा प्रस्तुत गर्दै गजलकै माध्यमबाट सामाजिक चेतना पनि दर्शाएका छन ।
दुई बर्ष अघिको अनुभव सुनाउदै उहाँले भन्नू भयो आफुसँगका साथिहरु सरकारी जागीरे भैसकेका थिए आफू पढ्न भनेर काठमाडौ पसेको थिए कार्यक्रममा आउन निम्ता आउँथ्यो तर घरपरिवारले पढाई वा गजल एउटा रोज्न भन्थे गजल लेखेर पनि कार्यक्रममा जान पाइन उहाँहरुले त गजल लेख्न नै छोड्न भनेका थिए, गजल त मेरो स्वास भैसकेको थियो लेख्न छोडिन लुकेर कार्यक्रममा पुग्थे । गजल लेखेर कार्यक्रममा जानू त टाढाको कुरा गजल लेख्दैछ भनेर कसैले घरमा सुनाइदियो भने घरबाट खर्च पठाइदिन्नथे तर अवस्था जस्तोसुकै आएपनी गजल लेख्न छोडिन ।
गजल मैले आफैले रोपेको बोट हो कसरी भाँचौ लाग्थ्यो। त्यसपछि त झन गजल सपनाको बिरुवा बन्यो कहिल्यै बिर्सेनन् उहाँले ।
उहाँको एकमात्र शेरले शृगारिकता उठायो भने माहोल कति माथी जान्छ भनै पर्दैन त्यसैमाथि उहाँका हरेक शेर जोकोहीको मुटुमै बस्छ्न ।

कसले भन्यो र तिमिलाई यी नजरमा बस्नु।
तिमी फूल हौ पृया फूलकै कदरमा बस्नु।

मान्छेका मनहरु पापै पापले भरिए पछि
भगवानलाई बाध्यता भयो पत्थरमा बस्नु।

असल मान्छे बन्ने भय त गाउँमै बस्नु पर्छ
बन मान्छे बन्ने भए मात्र यो शहरमा बस्नु।

समाजले बनाएको हो या यो नियतीले
बा बन्धकी बस्नु आमा छाउघरमा बस्नु।
उहाँका शेर सामाजिक बन्धन, बाध्यता, रितिथिती, संस्कृति र कुरितीसँग पनि खुब मितेरी लगाएर आउँछन।
कुन्दन प्रस्ट वक्ता पनि हुन् । गजलमा अराजक र अहंकार शैलिलाइ निरुत्साहित गर्दै गजल लेख्ने सर्जकहरुमा भावनात्मक समन्ध विस्तार गरि असल समाजिकिकरण गर्नुपर्ने कुरामा जोड दिन्छन उहाँ । गजलकार नवराज कुन्दन समयको परिवर्तन सँगै मानवीय जिवनशैली र ब्यवहारमा स्वभाविक परिवर्तन हुने हुँदा परम्परागत धरातललाई आधुनिकीकरण तर्फ विकास गर्नुपर्ने मान्यता बोकेका गजलकार पनि हुन, उहाँका गजल शेरहरुले पनि यो कुरालाई प्रुष्टी गर्दछन ।

अभाबको छाती माथी एक जीवन चलाउनु छ।
भोकका बिरुद्ध भोकभोकै आन्दोलन चलाउनु छ।

छोरा एक्छिन किताब छोडेर परेड खेल्दै गर्नु
भोलि तिमिले पनि जरुर मेसिनगन चलाउनु छ।

तिमिले जस्तो कलम चलाउने भाग्य छैन प्रिया
आफुले त खाडिको तातो घाममा घन चलाउनु छ।

घुमाउरो पारामा लेखिएका माथिका शेरले परम्परागत धरातललाई आधुनिकीकरण तर्फ विकास गर्नुपर्ने मान्यतामा जोड दिएका छ्न । माथिका शेरसँगैको मक्तामा आफ्नो साहित्यिक नाम कुन्दन अर्थात तखुल्लुस निकै रोचक ढंगले प्रयोग गरेका छन, जसमा अराजक देखाएका छन ।
कि अफ्ट्यारो ब्राह्मालाई यो सृष्टि चलाउनु होला
कि अफ्ट्यारो मेरि प्रियालाई यो कुन्दन चलाउनु छ।
शेरमा जे जस्तो लेखेपनी उहाँ शुशिल र भद्र स्वभावका छन । उहाँका गजलले भोक बोल्छ्न, केही भोक बोकेका शेर यसप्रकार छ्न,
जब मनमा घमण्ड पस्यो मात पस्यो ।
तब शोकको स्वाद बनेर सौगात पस्यो।

भोकका बचेराहरु उत्सब मनाउने छ्न
आज महिनौ पछि पेटमा दालभात पस्यो।

भुइचालो आउने छ महलमा तिमिलाई भेट्न
मलाई भेट्न भनेर झुपडीमा बर्षात पस्यो।
कुन्दन गजलमा पीडा लेख्न रुचाउँछन् । पीडाको आकार र प्रकार नभएकै कारणले मान्छेले यसैबाट सत्व ज्ञान प्राप्त गर्दछन् भन्ने विचार कुन्दनको हो । “भोक ठूलो कि भोजन ठूलो” भन्ने भनाइलाई कोट्याउदै उहाँले भन्नुभयो संसारमा सबैभन्दा ठूलो भोक हो, भोकले अभावलाई आवश्यकतामा परिवर्तन गर्दोरहेछ यदि हामीले गजलमा भोक र अभाव राख्न सक्यौ भने गजल कालजयी बन्न सक्छ । सामाजिक बिकृती र देशको समसामयिक परिस्थितिबारे उहाँको गजलले यसरी बोलेको छ ।
आमा उदाउछिन हरेक बिहान ओखल बाट।
बा अस्थाउने गर्छन हरेक साझ बोतल बाट।

हाम्रो आसुको उत्सवमा जरुर आउनु होला,
निम्तो छ राजधानीलाई यो मोफसल बाट।

काध माथी बसेर मालिकले यहि सोच्दो हो
पैतला पनि पीडित हुँदो रहेछ चप्पल बाट।

चलाउनेहरुले त उखानबाटै देश चलाइदिए
यता आफ्नो घर समेत चल्दैन गजल बाट।

गजलको विकास समन्धी कुन्दनको धारणा

रास्ट्रीय स्तरमा गजल समन्धी ठुला पुरस्कार ब्यवस्था गर्न सकेमा प्रदेश तथा स्थानीय स्तरमा पनि यसको सिको हुने तथा प्रदेश र स्थानीय स्तरमा पनि गजलका थुप्रै कार्यक्रम ल्याउन सकेमात्र समाजमा रहेका गजल प्रतिभाहरु बाहिर निस्किन्छन जसले नेपाली गजलको सम्मानमा एउटा इट्टा थपिनुका साथै गजल लेख्नेहरुमा उर्जा थपिन्छ भन्ने धारणा राख्नुहुन्छ । गजलकारहरुले राजनीतिक आग्रह तथा पुर्वाग्रह नबोकी गजलको विकास तथा सम्बर्द्धनमा लाग्न नसकेसम्म गजल क्षेत्रले फड्को मार्न नसक्ने उहाँको बिचार छ । गजललाइ पाठ्यक्रमको रूपमा विकास गरि पछिल्लो पुस्तालाइ गजल लेखनमा आकर्षण गर्नुपर्ने उहाँले बताउनुभयो । साना तथा ठुला कार्यक्रमहरुले अग्रज तथा अनुज गजलकारहरुलाइ पारिश्रमिकको ब्यवस्था गर्न सके गजलकारहरुमा उर्जा बढ्ने र गजल प्रति पछिल्लो पुस्ताको आकर्षण बढ्ने कुरामा जोड दिनुभयो ।

प्रकाशित मिति ६ माघ २०७७, मंगलवार ११:११
प्रतिक्रियाहरू
प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक

प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक
२०७७ फाल्गुण १४ गते शुक्रबार १०:४२

प्रेमहीन प्रेम दिवसका गुलावहरू

प्रेमहीन प्रेम दिवसका गुलावहरू
२०७७ फाल्गुण ५ गते बुधबार ०७:४४

गजल – गगन चुम्बन

गजल – गगन चुम्बन
२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:५०