नेपाली गजलका अभियन्ता बाबू त्रिपाठीले संचालन गरेको उत्कृष्ट १० गजलकारको सुचिमा परेका १० गजलकारहरुका १० गजल यसप्रकार रहेका छन ।
गजल
यो दुनियाँ पनि स्वार्थी भो,नाता भन्न बिर्सियो
चश्माले समेत चाहिन्छ अाँखा भन्न बिर्सियो
अरे यार गलत ठाउँमा लगानी लगाइएछ क्यारे
अग्रेजी पढेको छोराले आमा भन्न बिर्सियो
मैले झन्डा बोकेको दलको प्रतिनिधिले आज
हिजो आँफैले दिएको नारा भन्न बिर्सियो
म एक सवारी हुँ रहरको यात्री बोकेर दौडेको
उसले अाफु झर्ने ठाउँको ठेगाना भन्न बिर्सियो
खुइलिदै गाको,मेटिदै गाको रगतको अक्षरले
अाधा भन्यो प्रेम कहानी अाधा भन्न बिर्सियो
अमला अधिकारी सिन्धुली
गजल
मैले यति मजबुर बनेर हरियो रहन किन पर्थ्यो?
जहाँ सधैं जरा काट्नेहरुलाइनै हावा दिन पर्थ्यो ।
तिम्रो लागि ज्यान दिन्छु यो मैले भनेको थिएँ
ज्यानै लिएर गयौ ठिकै हो दिएको लिन पर्थ्यो ।
क्या जिन्दगी काटेर आइपुगें आफ्नो दुनियाँमा
पत्थर हालेरपनि मुखमा पानी सम्झिन पर्थ्यो ।
कि मिठाई दिन हुनेथिएन बच्चामा रोएकोबेला
कि गुमाएका हरेक चिज रोएर भेटिन पर्थ्यो ।
तिमीले धकेल्न लगेको थाह थियो इनारभित्र
बिश्वास जोगाउन मैलेनै आँखा चिम्लिन पर्थ्यो ।
जसलाई बचाउने क्रममा हात गुमाइस ईश्वर
आज तिनै बताइरहेछन कसरी जोगिन पर्थ्यो ।
इश्वर दाहाल धनकुटा
मलाई बिर्सन्छु भनेर सम्झिनुपर्ला
कुनै बिन्दुमा हामी भेटिनु पर्ला ।
फलाम हुँ भन्दै हिड्छौ छाती पिटेर
यो आगोमा परेपछि पग्लिनु पर्ला ।
म त्यही आमा हुँ घरबाट निस्किएको
छोराले बोलायो भने फर्किनु पर्ला ।
उम्लिनु हुँदैन मित्र, दुध जसरी
पोखिनु पर्ला भुइँमा, बजारिनु पर्ला ।
मुग्लान पस्नेसँग मन नसाट छोरी,
फर्किएन भने जीवनभर पर्खिनुपर्ला !
संगिता थापा मकवानपुर
गजल
एक सज्जन भईरहन्छ एक पागल भईरहन्छ
बेला बेलामा यो मन पनि फेरबदल भईरहन्छ
सिउदोमा राखुकी तिमिलाई एल्बममा सजाउं
पटक पटक बिचारहरुको छलफल भईरहन्छ
खै अचेल कस्को दिल खनिएकोछ उनिमाथि
अनुहारमा चमक आखामा गाजल भईरहन्छ
थोरै कनिका दिनुहोस मालिक अछेता लाउन
हजुरको त डस्बिनमा पनि चामल भईरहन्छ
बा आमा चप्पल भएर सकिएपछि बुझेको हुं
चप्पल चप्पल हो बाचुन्जेल चप्पल भईरहन्छ ।
कृष्ण विरही अछाम
गजल
युगौँपछि मुर्दाको बोल्ने पालो आयो होला
ऊ बोलेन उभित्र आवाज कति चिच्यायो होला
मलाई भने आफ्नै मृत्यु ठूलो लागि रह्यो
किरा पर्दा उन्को आँखा कति बिझायो होला ?
एउटाले गुडियाको शिर काटी सन्दुकमा राख्यो
अर्कोले छोरीको शिर काट्यो कहाँ लुकायो होला ?
मजदुर मालिक बन्यो, मालिक मजदुर बन्यो
बन्नेले केही पाएन, बनाउनेले के पायो होला ?
—हुकुम धड्कन बाँके
गजल
शरीर खुट्टाको बलमा राखेको छु
मेरा खुट्टाहरु चप्पलमा राखेको छु ।
बच्चाहरुले नजर झुन्डिएको छन्
बेलून झुन्डिएर पसलमा राखेको छु ..
भुइँमा रहेर पनि भुइँमा हेर्दैन
मैले एक नजर महलमा राखेको छु ..
जताबाट हेरे पनि मलाई पाउने छौ
आफुलाइ तेस्तो एङलमा राखेको छु
शरीर खुट्टाको बलमा राखेको छु
खुट्टा चप्पलमा राखेको छु
बिपिन सलामी डोटि
गजल
हिजो जिउँदो थिए!!मार्यौ ,भए लास सकियो।
एउटा फाइदा यो भयो!! बाच्ने जन्जाल सकियो ।
काम माग्न लाईनमा बसेको छोरो भोकले मर्यो
धन्न राहतको पैसा पाइयो, जलाउने काम सकियो
विकास पनी यसरी भएको छ यहाँ हेर्नोस!महासय
ठेकेदारको घरको संघार कट्यो की बजार सकियो
रसिक राज सल्यान
कसैको अगाडि खुट्टा बजार्नुस उपहास हुन्छ
गर्भमा भने त्यही हिर्काइ नै खास हुन्छ
काटेको हाँगो केही दिनसम्म हरियो थियो
नमरुन्जेलसम्म सबलाइ बाँच्न,आश हुन्छ
यो कस्तो विश्वास सिकायौ तिमिले
आफू मरेको कुरामा पनि विश्वास हुन्छ
रगतमा पौडिन छोडेर मेरो बस्तिमा आउ
तिमिलाई रातै मन परे यता गुराँस हुन्छ।
महेन्द्र चन्द महासागर दैलेख
गजल
घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
न खान दिन्छ न भोक मेटाउँछ पेटको
छन त उसको पनि राहदानी के गर्नु
पोखिन देउ बगरले प्यास त मेट्ला थोरै
राखेर आँखामा यति धेरै पानी के गर्नु
गर्न त गरिन्छ नि रोज दुःखको कारोबार
हुँदैन अलिकति पनि आम्दानी के गर्नु
शंका पनि सहि ठाउँमा गर्न सक्नुपर्छ साहेब
फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु ।
सुमन स्मारिका कैलाली
गजल
धेरै कुरा नगर्नुस् कुरामा दम छैन
बिचारमा अागाे बाेली नरम छैन
मर्नेबेलासम्म गाेजी छाम्दै मर्नुहुन्छ
भन्नुहुन्छ मलाई पैसाकाे अहम छैन
अामाकाे हुन सकेनाै ,देशको हुनसकेनाै
मलाई पनि तिम्राे हुने मन कसम छैन
पिरतीकाे छाेड नुन चामलको कुरा गर
अाजकल मेराे झुपडीमा प्रेमकाे माैसम छैन।
आशा शाकी बलायर डडेल्धुरा
प्रकाशित मिति २८ पुष २०७७, मंगलवार ०७:४१