१) गजल
अर्जुनहरु लाई अर्जुनकै निशाना सिकाईयो।
टुहुरालाई स्कुलमा पनि प्राथाना सिकाईयो।
युद्ध जितियो तर जमिन अझै आफ्नो भएन।
यहाँ पुस्तै पिच्छे फरक-फरक सिमाना सिकाईयो ।
सुनकै मुल्यमा ब्यापारिहरु नुन बेचिरहेछन ।
कोभिड भनियो पसलेलाई बाहना सिकाईयो।
पेटले फेरि रुवायो,नसिकाउनु पर्थ्यो बच्चोबाटै
खानाले फुल्याउने तरिका पाना-पाना सिकाईयो।
यस्तो क्रन्ति गरियो, कि भयो यस्तो परिवर्तन,
आइएनजिओ बोलाएर पाईखाना सिकाईयो।
प्रतिक रेग्मी,
धनकुटा पाख्रिबास-१
हाल अबुधाबी ,यूएई
२) गजल
चुनाव आउँदा ति नेता बिकास गर्छु भन्ने खै कहाँ गए
क्रान्ति हैन देशै भरी अब शान्ति भर्छु भन्ने खै कहाँ गए
भोट माग्ने सिल सिलामा गाउँबस्ती घुम्दै फिर्दै आउने
देशको रक्षा गर्न शत्रुसँग आफै सर्छु भन्ने खै कहाँ गए
मुलपानीले बागमती सारा पखालेर सबैभन्दा नेपाल
सहरको दुर्गन्ध सितल छर्लङ्ग छर्छु भन्ने खै कहाँ गए
देश अनि सबै सबै जनताको सम्मान जनताको लागि
मर्नुपरे सुन ज्यानै समेत छोडी मर्छु भन्ने खै कहाँ गए
गाउँभरी सडक बाटो सबै जनता तपाईंहरूको लागि
गरिब अनि ती निमुखाको दु:ख हर्छु भन्ने खै कहाँ गए
प्रवीण नेपाल
सिन्धुपाल्चोक
३) गजल
हिजोआज सरकारको निको छैन चाल यहाँ
रमाउदै हिड्न थालेको छ दिनदिनै काल यहाँ
समयमै इलाज नपाई लासको संख्या बढेपछि
कसरी ठिक हुन्छ र खै जनताको हाल यहाँ
प्राकृतिक प्रकोप,सामाजिक विकृति,महामारीले
पिल्सिएर बाँच्नु परेको छ प्रत्येक साल यहाँ
चुनावको बेला मिठो भाषण छाट्दै लोभ्याउने नेता
लट्ठै लोभिने जनता कसैको राम्रो छैन ताल यहाँ
हरेक तह र तप्कै पिच्छे बढेको भ्रष्टाचारलाई
लुकाउन रच्दैछन् अनेकथरी जाल यहाँ
धर्मिला कार्की
महाराजगञ्ज, काठमाडौँ
सगरमाथा साहित्यको आयोजनामा आयोजित कलमको आवाज युद्ध वृहत् अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू
प्रकाशित मिति १७ मंसिर २०७७, बुधबार २०:००