१
समयले यस्तो पनि चुनौती दिन थाल्यो
आफ्नो सारा अस्तित्व नै मेटिन थाल्यो
नाङ्गै हिड्नेले लुगा लगाउन थालेपछि
लुगा लाउने मान्छे स्वंय् नाङ्गिन थाल्यो
२
कठिन मोडमा उभ्यायो तिम्रो क्रान्तिले
बोल्न प्रतिबन्ध लगायो तिम्रो क्रान्तिले
आज उसैलाई क्रान्ति के भनेर सोध्छौ
जस्का बा´आमा खायो तिम्रो क्रान्तिले
३
गुमाएर हिड्दैछु बुद्धि विवेक अरु केहीछैन
भोग्दैछु दु:ख पीडाहरु अनेक अरु केहीछैन
के छ?भनेर सोध्नेलाई यही सुनाउन मन छ
तिमीले दिएको धोका बाहेक अरु केहीछैन
४
को पराई हो को आफ्नो बुझ्ने भैसकेँ
के अप्ठ्यारो के सजिलो बुझ्ने भैसकेँ
तिमी सधैं राम्रैको मात्र बर्णन गरिरह्यौ
हुन त म पनि राम्रो नराम्रो बुझ्ने भैसकेँ
५
आँखामा आँसु बगाई-बगाई बाँच्ने रहर छैन
मनका पीडा अरुलाई सुनाई बाँच्ने रहर छैन
तिमीले यही बेला सयौंजुनी बाँच्नुपर्छ भन्यौं
मलाई भने तिमीलाई रुवाई बाँच्ने रहर छैन
प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार ०८:२८