कविता – सर्किनी नानी

कविता – सर्किनी नानी

सिपी संघर्ष प्रिया पत्थर

@Mayur Times

२०७७ कार्तिक १७ गते सोमबार ०५:४८

हेर ,यहि हो तिम्रो मालिकको सुन्दर घर यो घरको प्रत्येक भित्तामा छन् तिम्रै बाबाका हातका हौँलाका छापहरु यो घरको प्रत्येक कोठाको कुनामा सुरक्षित छन् , तिम्रै बाबाका खुट्टाका पैतलाका चित्रहरु सक्छौ ?

आँखामा आँसकुो तलाउ टिल्पिलाएर
ओठको एक चिम्टी खुसी डढाएर
विभेदको विषमा भिजाएर सिरानी
कति वर्ष सम्म यो घर बाहिरै बस्छौ
ए सर्किनी नानी ।।

हेर ,यहि हो तिम्रो मालिकको सुन्दर घर
यो घरको प्रत्येक भित्तामा छन्
तिम्रै बाबाका हातका हौँलाका छापहरु
यो घरको प्रत्येक कोठाको कुनामा
सुरक्षित छन् ,
तिम्रै बाबाका खुट्टाका पैतलाका चित्रहरु
सक्छौ ?
आउ यो घर भित्रै जाउँ
र नियालौँ तिनै बाबाका पैतलाका छाप
श्रम र सीपको महानता
सर्किनी नानी
बाबाले पसिना मात्र होइन
श्रम र प्रतिष्ठा समेत बगाएको यो महलमा
तिमलाई मात्र होइन
बाबालाई पनि भित्र पस्न निषेध थियो
यी हेरत
यो भगवानको पवित्र मन्दिर हो ,
हात राखेर निधारमा ,खुसी बोकेर अधरमा
पवित्र मन्दिरको विचित्र मुर्ती कोर्ने पनि
तिम्रै बाबा हुन् ।
ती भगवानको आँखा,कान,निधार र सिंगो शरिरमा
पसिना पोखिएको छ
इज्जत जोडिएको छ
रगत लत्पतिएको छ
र मुटु गाँसिएको छ
तिम्रै बाबाको
सर्किनी नानी तिमीलाई थाहा छ ?
जब मूर्ती मन्दिरमा पुग्यो
बिचरा, मूर्तिकारलाई छुने कुरा त परै जावस्
हेर्नबाट पनि बञ्चित गराइयो
सक्छौ भने त्यो भगवानलाई एउटै प्रश्न सोध
सन्तानलाई प्रयोग गर्ने अधिकार
जन्माउने आमाको हुन्छ की
जन्माउन सघाउने नर्सको ?
र यो पनि सोध
फूलबारी फूल रोप्ने किसानको हुन्छ की
फूल हेर्न आउने दर्शकको ?

सर्किनी नानी
यी यो धारा हो,
यो काठको धारा बोकेरा ल्याएको हो
तिम्रै बाबाले
र टुटि जोडेको पनि हो
तिम्रै बाबाले
पूरै गाउँलेले पिउँछन् यो धाराको पानी
विडम्बना यो धारा छुन पनि मनाही छ तिमीलाई
सर्किनी नानी ,

आउ अब आजैबाट जाउँ र त्यहि धारामा पखालौँ
मानिसको दिमागमा भएको यो अन्धविश्वासको मैलो
र सँगै जाउँ त्यो महलमा र मिलेर चिरौँ
त्यो अहंकारको च्यादर
नडराउ,संगै मिलेर भत्काऔँ त्यहि मन्दिरमा गएर
समाजमा रहेको कुरीती र कुसंस्कारको जग
आउ सँगैँ मिलेर जाउँ प्रत्येकको घर घरमा
अनि उखेलौँ
सदियौँ देखि गाढिएका
छुवाछुत र विभेदका लामा लामा जराहरु
त्यसपछि हेरौँला
यो समाजमा कसैले कसैलाई बचाउनै पर्ने छैन
मानव
मानव मात्रै हैन
महामानव भएर आफँै बाँच्नेछ ।

प्रकाशित मिति १७ कार्तिक २०७७, सोमबार १७:४८
प्रतिक्रियाहरू