हरेक वर्ष
एउटा यस्तो दिन आउँछ, उल्टो
जुन दिन असाध्यै दुख्छु म
र म सँगै दुख्छन मेरा शत्रुहरु
बरु, खुसिले दीपावली गर्छन
मेरा आफन्त, प्रियजन र साथीभाइ
सम्झन्छु,
कति आए होलान्? आजसम्म
सिमली भुवाजस्ता दिनहरु
र, उडे होलान्
एउटै नरहेर आकाशतिर
कतिपल्ट घुम्यो होला ?
घडीको सुईजस्तो मुस्कान
कति कोरल्यो होला? विचारका चल्ला
र खोल्लिए होलान्, फूलजस्ता सपना
ओथारे मगजबाट
उत्तर- दुई दुना एक
के यति उल्टो छ जीवन?
मृत्यु
जन्मेदेखिनै लखेटि रहेछ मलाई
र बेतोडले भागिरहेछु म
भाग्दा भाग्दै
कसरी भनुँ ?
‘ओ प्रियजन, नपठाउनु
पुष्पगुच्छाका उपहार
र, जन्मदिनको शुभकामना
किनकि
मृत्यु र मेरो दुरी छोटिएको
एउटा अर्को वर्ष आजै हो ।‘
प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार १८:३५