स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोना संक्रमण बढिरहेकाले काठमाडौं नआउन सर्वसाधारणलाई अपिल गरेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले केही दिनदेखि काठमाडौंमा संक्रमण बढिरहेको भन्दै सकभर काठमाडौं प्रवेश नगर्न उपत्यका बाहिरका मानिसलाई आग्रह गर्नुभयो । उहाँले यदि आउनै परे सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गर्नुभयो ।
आज काठमाडौं उपत्यकामा १ हजार १७७ जना संक्रमित थपिए । जसमा काठमाडौंमा १००९, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आज देशभर २ हजार १२० जनालाई कोरोना पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
जसमध्ये डिस्चार्ज हुनेको संख्या ६२ हजार ७४० रहेको छ । २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भए । पछिल्लो २४ घण्टामा ८ संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मृतकको संख्या ५२८ पुगेको छ ।
प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०६:१२