पहिलाे पटक केटी हेर्न जाँदा -भुवनहरि सिग्देल

पहिलाे पटक केटी हेर्न जाँदा -भुवनहरि सिग्देल

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १५ गते बिहिबार ०७:३८

पहिलो पटक केटी हेर्न जाँदा १२ वर्षको थिएँ । जेठा बाको छोरा मुरलीप्रसादले केटी देखाउन लाने भए । केटी उनकी मावली गाउँ चित्लाङ्की अरे । आमा चाहिँ राणाको दरबारमा भान्छे बाहुनी बसेकी रे । छोरी पनि आमासँग बसेकी । केटी हेर्न जानका लागि...

पहिलो पटक केटी हेर्न जाँदा १२ वर्षको थिएँ । जेठा बाको छोरा मुरलीप्रसादले केटी देखाउन लाने भए । केटी उनकी मावली गाउँ चित्लाङ्की अरे । आमा चाहिँ राणाको दरबारमा भान्छे बाहुनी बसेकी रे । छोरी पनि आमासँग बसेकी ।
केटी हेर्न जानका लागि आमोइले लुगा खोज्नुभयो । काने जुता तीन ठाउँमा बाङ्गिएका थिए । मोजा नाइँ । अब कमिज सरुवाल लगाएर मात्र कसरी जाने ? अरु मेरा लुगा केही पनि थिएनन् । तै तै घरमा बाको एउटा स्वीटर रहेछ जाली जस्तो बुनेको । आमोइले त्यही स्वीटर लगाइदिन थाल्नुभयो । बाउला एक वित्ता जति बाहिर निस्के । लम्वाई घुँडानेर पुग्यो । त्यसलाई मोडमाड पारेर कम्मरमा पटुका जस्तो पारिदिनुभयो । बाउला मोडेर नाडीमा फुकुन्डोजस्तो पारिदिनुभयो ।
मेरो टोपी त झुत्रे थियो । बाको माखा बुटे टोपी खोजेर ल्याउनुभयो । त्यसले दुवैतिरका कान सम्म छोप्थ्यो । यस्तो पोषाक भिरेर म पहिलोपटक दुलही हेर्न गएँ ।
हिँडेर आउनुपर्ने थानकोट पारीको दहचोकदेखि काठमाडौँसम्म फेरि बेलुका घर नपुगी नहुने । मोजा विनाको काने जुताले दुखाएर हिँड्नै सकिनँ । गोली गाँठामा घाउ जस्तै बनायो । सायद नैकापतिर आइपुगिएको थियो होला मैले जुता फुकालेर हातमा झुन्डाएँ । दाजु मुरलीप्रसादले भने, ‘ए काँधमा गलबन्दी पनि छैन के भन्लान् केटा ? ला बरु मेरै फेटा बेर ।’
दाजुले फेटा त दिए । फेरि उनका फेटा त घुँडाभन्दा तल आइपुग्ने । उनले अक्कल गरेर त्यो फेटा गर्धनमा फनफन बेरे । तैपनि दुइटा फुर्का लामा भए । त्यसलाई बेरबार बनाएर छातीमा घुसारिदिए । झलक्क हेर्दा म ११÷१२ वर्षका केटीजस्तो देखिएँ होला । छाती पुटुस्स देखिएकाले ।
यसरी हामी कालीमाटीतिर आइपुगेका थियौ होला । दाइले सोधे, ‘दुहली ल्याएपछि के गर्छस् बाबु ?’
मैले भने, ‘गुच्चा खेल्ने ।’ सिपाही पाराले जिस्काइहाले, ‘ह्या मोरा दुलही ल्याएर पनि गुच्चा खेल्ने हो ।’
मैले भने, ‘के गर्ने त दाइ ?’
उनले भने, ‘त्यो कुरा विवाह गरेको दिन तँलाई भन्दिउँला ।’
सायद, दरबार नजिकै थियो होला । दाइले जुता लगा भनेर हप्काए ।
‘त्यहाँ दरबारका मालिकसँग भेट हुन्छ । प्यारप्यार नबोल है ।’
निहुरिएर बिस्तारै बोल भने ।
त्यो दरबारमा पसियो । ढोकामा सिपाही उभिएको थियो । उसले के सोध्यो दाइले के भने थाहा भएन । त्यो सिपाहीले साथैमा लिएर भित्र गयो । लामो बरन्डा छेउपट्टि फलैचाजस्ता काठका बस्ने ठाउँ । ठाउँठाउँमा थिए । एउटा फलैचामा बसाल्यो । बसिरहनु भनेर उभित्र गयो । हामी टस्याकटुसुक बस्यौँ । बोलचाल छैन । दस मिनेट वितेको थियो होला । एकजना कुर्था सुरुवल लगाएको । छालाका चप्पल सेता लवेदा सुरुवल । कपाल मास्तिर तलासेको मानिस हामी भए तिर आयो । उसको पछिपछि एकजना हुक्का बोकेको सिपाही थियो । ऊ नजिकै आएपछि दाइले उठेर स्वति गरे । मलाई पनि चिमोटेर स्वति गर्न लगाए । त्यो महापुरुष हामी बसेको फलैचा अगाडि बस्यो । हुक्का बोक्नेले नली मालिकको मुखै नेर लगेर दियो । नली समाएर तीन पटक ट्ुर्रटुर्र हुक्का बजाए । हामीतिर हेरेर भनेर भने, ‘ए बज्यैकी छोरी हेर्न आएका हौ ।’
दाइले हो हजुर भने ।
मालिकले मतिर आँखा तानेर भने, ‘ए केटा कति वर्षका भयौ ?’
म लजाएर निहुँरिए । १२ वर्ष मात्रै भन्न सकेँ ।
‘पढेका छौ कि छैनौँ ?’
छु, रुद्री चण्डी, दुर्गा कवज पढ्न जानेको छु । मैले भनेँ । त्यो मालिकले फिस्स हाँसेर भने, लविदरे देखिन्छौ त ?
अघि हुक्का लिएर आउने सिपाही बगलमा उभिएको थियो । ऊ तिर फर्केर मालिकले भन्यो, ‘जा बज्यै र उसकी छोरीलाई बोलाएर ले ।’
सिपाही गयो । एकछिन पछि पर कुनामा एउटी अधवैँशे आइमाइ र केटी निकै पर उभिएको देखेँ । ती हाम्रा अगाडि आएनन् । सायद हेर्न आएका होलान् तर हाम्रा अगाडि आएनन् । सिपाहीले भन्यो, मैयाँ बज्यैको मारकेस छ अरे पन्छिएको दुई दिन भयो अरे ।
मालिक जुरुक्क उठ्यो । कुरा मिल्ला जस्तो भएन । दोल्ठायाङ खायो । ऊ त चप्पल बजाउँदै लरलर फर्कियो । दाइ र म जिल्लाराम ।
दाइले भने हाम्रो काम सकियो । मैले के ठानेर सोधेँ, ‘दाइ खै त केटी ?’
दाइले भने, सुनिनस केटी पन्छिएकी छे अरे । कुरोले पनि दोल्ठायाङ खायो अरे । यो केटी तेरा लागि जुर्ली जस्ती छैन । दाइले भन्यो, म यतिखेर सम्झन्छु । केटी पक्कै पनि १४ प्रन्ध वर्षकी हुनुपर्छ । पर सरी सकेकी । म १२ वर्षको छु । जुँगाको रेखी पनि बसेको छैन । मालिकले भन्यो दोल्ठायाङ खायो । दाइले भन्यो कुरा सकियो । साँझमा बल्ल घर पुगियो । आमोइले सोध्नुभयो, ‘केटी हेरेर आयौ कस्ती लागी ?’ म बोलिनँ दाइले भने, ‘कुरो त मिल्ला जस्तो छ । केटी नजिक आइन पन्छेकी रैछ । आमोईले भन्नुभयो, हैट सिपाहीको बुद्दि के को मिल्नु नि । तेरो भाइ १२ वर्षको छ ऊ चौध प्रन्ध वर्षकी थिई । मिल्ला त कुरो । त्यो हुलिया बनाएर पहिलो पटक केटी हेर्न गएको म । के केटी हेरेँ, कसरी हेरेँ । त्यो प्रसङ्स त्यसै सेलायो । दरबार बसेकी मैयाँ सँग मेरो विहे भएन । सम्झन्छु अहिले कहाँ होली ? जहाँ भएपछि भलो होस्् विचरीको ?

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०७:३८
प्रतिक्रियाहरू
नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल

नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल
२०७७ कार्तिक १२ गते बुधबार १०:०५

पाठकको नजरमा  ” वीर्य जमिन ” –  निराजन लुइटेल

पाठकको नजरमा ” वीर्य जमिन ” – निराजन लुइटेल
२०७७ कार्तिक ९ गते अाईतबार ०३:४३

आमा  यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी

आमा यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी
२०७७ कार्तिक ७ गते शुक्रबार ०५:४४

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार
२०७७ कार्तिक ६ गते बिहिबार ०५:२५