तृषामाथि एक दृष्टि – आर.आर चौलागाईं

तृषामाथि एक दृष्टि – आर.आर चौलागाईं

आर.आर चौलागाईं

@Mayur Times

२०७७ असोज १२ गते सोमबार ०७:३५

प्रमोदले प्रमिलालाई घरबाहिर जान दिँदैन । आफ्नै व्यवसायमा पनि हात बढाउन दिँदैन अनि कुनै जागीरमा लाग्न पनि दिँदैन । घरमै कठपुतली बनाएर राखेको हुन्छ । प्रमिलालाई घरमा बसेर समय काट्न गाह्रो हुन्छ । सावित्रीले दुःख सुखमा उसलाई साथ दिन्छे । उसको सामीप्यताले गर्दा प्रमिलालाई अलिकति भए पनि सान्त्वना मिलेको हुन्छ ।नभएको कुरा पाउन खोज्नु मानवीय स्वभाव हो । उपन्यासमा अर्को एउटा मुख्य सहायक पात्र हुन्छ जीवन । ऊ प्रमोदको फ्याक्ट्रीको मेनेजर ।

मैले भर्खरै साहित्यकार सुशीला पौडेलद्वारा लिखित उपन्यास ‘तृषा’ पढेँ । तृषा अर्थात् प्यास, तिर्खा, इच्छा, लालसा, लोभ आदि । उपन्यासको कथा हाम्रै घर र हाम्रै वरिपरिको कथा हो । यसमा उपन्यासकार सुशीलाले आफ्नो लेखन सीप र आफ्नो लेखन क्षमता देखाएकी छिन् । पहिलो उपन्यास भए पनि यिनको कलम माझिएको पाएँ मैले । त्यसो त यिनी गीत, गजल, मुक्तक र कवितामा रमाउँदै आएकी सर्जक पनि हुन् ।उपन्यासमा पात्रहरू धेरै छैनन् । घटनाहरू झिँजो लाग्ने खालका छैनन् । कथा सलल्ल अगाडि बढेको छ । पढ्दै जाँदा अब के होला भन्ने जिज्ञासा हुन्छ । किताब पढ्दै जाँदा हामी कतै भावुक हुन्छौँ त कतै मज्जाले हाँस्न पुग्छौँ ।

उद्योगपति प्रमोदको एउटा सानो र सुखी परिवार हुन्छ । उसकी श्रीमती प्रमिला र साना केटाकेटीहरू– छोरी साधना र छोरो सार्थक । चार जनाको परिवार । नपुग्दो केही छैन । चिटिक्क परेको बङ्गला, मोटर गाडी, प्रयाप्त बैँक ब्यालेन्स, राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार । दुवै पढालेखा । तर उनीहरूमा एउटै कुराको अभाव हुन्छ । त्यो हो एकले अर्कालाई दिने समय, शरीरले खोजेको आवश्यकता र एकले अर्कालाई दिने सम्मान अनि इज्जत । यसमा प्रमोद चुकेको हुन्छ । उसले प्रमिलाको भावनालाई बुझ्दैन । मानौँ प्रमिला उसकी जीवन साथी होइन । घरकी एउटी बफादार र इमान्दार नोकर्नीमात्र हो । जसले जहिले पनि ऊ अफिस जाने बेलामा उसको मोजा र टाई खोजेर ठिक्क पारेर राखिदिनुपर्छ । उसको ल्यापटप र पेन ड्राइभ बोकेर खडा हुनुपर्छ । न उसले प्रमिलाको चाहनालाई बुझ्छ न त छोराछोरीलाई समय दिन्छ । उसलाई खालि आफ्नो व्यापार बढाउन पाए पुग्छ । जति भए पनि पुग्दैन उसलाई । यही खटपटलाई लिएर उपन्यासको कथा अगाडि बढ्छ ।

प्रमिलाको घरमा सावित्री नामकी केटी पनि बस्छे । भाडामा । तल्लो फ्ल्याटमा । ऊ एक्लै हुन्छे । उसको लोग्ने प्राचार्य विदेश गएको हुन्छ । पैसा कमाउन । काठमाडौँको खाँटी नेवारकी छोरी झापाको कट्टर ब्राह्मणको छोरासँग प्रेम विवाह हुन्छ । सानी छोरी हुन्छे । उनीहरूको प्रेम प्रसङ्ग पनि साह्रै रोचक छ । रमाइलो छ । उनीहरूको प्रेम मात्र २० रूपैयाँको नोटले गराएको हुन्छ । यो उपन्यासमा रमाइलो गर्ने उनीहरू नै हुन् । प्रमोदले प्रमिलालाई घरबाहिर जान दिँदैन । आफ्नै व्यवसायमा पनि हात बढाउन दिँदैन अनि कुनै जागीरमा लाग्न पनि दिँदैन । घरमै कठपुतली बनाएर राखेको हुन्छ । प्रमिलालाई घरमा बसेर समय काट्न गाह्रो हुन्छ । सावित्रीले दुःख सुखमा उसलाई साथ दिन्छे । उसको सामीप्यताले गर्दा प्रमिलालाई अलिकति भए पनि सान्त्वना मिलेको हुन्छ ।
नभएको कुरा पाउन खोज्नु मानवीय स्वभाव हो । उपन्यासमा अर्को एउटा मुख्य सहायक पात्र हुन्छ जीवन । ऊ प्रमोदको फ्याक्ट्रीको मेनेजर । जीवन, पहिलो भेटदेखिनै प्रमिलाको पछि लाग्छ । ऊ प्रमिलाको रूपको प्रशंसा गर्छ । प्रमिलालाई असाध्यै प्रेम गर्छु भन्छ । उनलाई नपाए मर्छु भन्छ । प्रमिलाको भावना बुझेको नाटक गर्छ । प्रमिला जीवनको कुरामा विश्वास गर्छे । उसको नाटकीय प्रेममा पग्लिन्छे र उसलाई पटकपटक आफ्नो शरीर सुम्पिन्छे । एक दिन जीवनले आफ्नो बुबा आगोमा जलेर मर्नु न बाँच्नु हुनुभएको छ, दिल्लीमा उपचार गर्न जानुपर्यो भनेर प्रमिलासँग पाँच लाख सापटी मागेर लान्छ र बेपत्ता हुन्छ । उसले फ्याक्ट्रीको व्यापारको लागि भनेर प्रमोदसँग पनि छ लाख लिएर गएको हुन्छ । पछि प्रमिलाले बुझ्दा ऊ अस्ट्रेलिया गएको हुन्छ । बल्ल आफूलाई बुझ्ने मान्छेले धोका दिएको हुँदा ऊ धेरै आहत हुन्छे । किनभने उसले जीवनलाई मनैदेखि माया गरेकी हुन्छे । उसलाई विश्वासमा घात हुन्छ । ऊ विक्षिप्त हुन्छे । तर के गर्नु ! जे हुनु भइसकेको थियो ।

‘तृषा’ एउटा उच्च कोटिको मनोवैज्ञानिक उपन्यास हो । हाम्रो समाजमा यस्ता घटना धेरै घट्ने गरेका छन् । अहिले पनि शिक्षित र आफूलाई विद्वान छु भनेर गर्व गर्ने व्यापारी वा जागिरे पुरूषहरूले महिलालाई घरबाहिर निस्कन दिँदैनन् । श्रीमतीलाई अरूसँग बोल्न दिँदैनन् । बिहान उठ्नेबित्तिकै खुट्टाको पानी ख्वाउन लाउँछन् । तर बाहिर भने समानताको गुड्डी हाँकिरहेका हुन्छन् । अरू त अरू भैहाले, तर सबभन्दा बढी नारी स्वतन्त्रताको नारा फलाक्ने कम्युनिस्ट नेताहरूले पनि यसो गरेको देख्दा यो मन कटक्क काटिएर आउँछ । हाम्रा समाजका अगुवाहरू– मुखले भन्छन् एउटा र व्यवहारमा गर्छन् अर्कै । कस्तो विडम्बना !

उपन्यासको मुख्य पात्र प्रमोद यस्तै एउटा सम्पन्न तर घटिया पात्र हो । पैसा भएपछि घर त्यत्तिकै स्वर्ग हुन्छ भन्ठान्छ । यौवनले धपक्क बलेकी आफ्नी सुन्दर श्रीमतीको यौन चाहनालाई बुझ्दैन । सधैँ अफिसको मिटिङ, सधैँ राति अबेला घर आउँछ र सुतिहाल्छ । श्रीमतीले के भन्न खोजेकी छे, छोराछोरीले पढे कि पढेनन् उसलाई केही मतलब छैन । प्रमिलाले घरको उकुसमुकुसबाट एउटा निकास खोजिरहेकी हुन्छे । त्यही बेलामा उसको अगाडि जीवन भन्ने मान्छे टुप्लुक्क आउँछ र ऊ बिस्तारै त्यता ढल्किन्छे । तर त्यो निकास पनि एउटा अँध्यारो सुरूङ थियो, एउटा दलदल थियो र एउटा खाल्डो थियो अनि ऊ जानी नजानी त्यो खाल्डोमा खस्छे । उपन्यास यसरी सकिन्छ ।

नाम चलेका लेखक र नाम चलेका किताबका अगाडि यो उपन्यास निरीह हुन सक्छ, ओझेलमा परेको हुन सक्छ तर साँच्चै घोत्लेर पढने हो भने यो पुस्तकको कथानक, भाषा र शैली अब्बल छ । मान्छेहरू भन्छन् नि, बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन । त्यस्तै उपन्यास हो यो । यिनले पनि तामझाम गरेर ठाउँठाउँमा हल्ला फिँजाउँदै पुस्तक बिक्री गर्दै हिँडेकी भए राष्ट्रिय छापाहरूमा ठूलै ठाउँ पाउँथिन् होला । थुप्रै नगद, पुरस्कार र सम्मान गुटमुट्याउँथिन् होला । तर यिनले त्यसो गरिनन् । चुपचाप लेखिरहेकी छिन् । गुमनाम बसिरहेकी छिन् । यिनको हल्लाको पछि लाग्ने स्वभाव छैन । सलाम छ सुशीला बहिनी तिमीलाई । यसो गरेर तिमीले हाम्रो नाक पनि जोगाएकी छ्यौ ।

उपन्यासमा एकाध ठाउँमा भाषा खलबलिएको छ र केही ठाउँमा शुद्धाशुद्धिलाई त्यति ध्यान दिइएको छैन । मीठामीठा व्यञ्जन खाइरहेको बेलामा कहिलेकाहीँ दाँतमा ठेस लाग्न पुग्छ । त्यस्तै कुरा हो यो । कलात्मक कृतिको लागि बधाई छ सुशीला बहिनी तिमीलाई । तिम्रो यात्रा कहिले पनि नरोकियोस् । अझै अगाडि बढ र शिखरमा पुग । लाखलाख शुभकामना छ तिमीलाई । यो उपन्यासलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यस्तैयस्तै राम्राराम्रा कृति प्रकाशन गरेर साहित्यको भण्डार भरिरहोस् । शिखालाई पनि बधाई तथा शुभकामना !

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०७:३५
प्रतिक्रियाहरू
नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल

नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल
२०७७ कार्तिक १२ गते बुधबार १०:०५

पाठकको नजरमा  ” वीर्य जमिन ” –  निराजन लुइटेल

पाठकको नजरमा ” वीर्य जमिन ” – निराजन लुइटेल
२०७७ कार्तिक ९ गते अाईतबार ०३:४३

आमा  यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी

आमा यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी
२०७७ कार्तिक ७ गते शुक्रबार ०५:४४

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार
२०७७ कार्तिक ६ गते बिहिबार ०५:२५