कोरोना भाइरको संक्रमणबाट विश्वभर २० लाख मानिसको मृत्यु असम्भव नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हो ।
विश्वमा कोभिड–१९ का कारण मर्नेको संख्या १० लाख पुग्दैछ । यो संख्या दोब्बर बन्नु असम्भव नभएको संगठनको स्वास्थ्य आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने । ‘यो पक्कै पनि अकल्पनीय छ, तर असम्भव भने छैन,’ उनले भने ।
संक्रमण शुरु भएको नौं महीनामै करीब १० लाख मानिसको ज्यान गुमिसकेको छ अनि आगामी नौ महीनामा खोप बनिहाले पनि सो अवधिमा अर्को १० लाख मानिसको मृत्यु नहोला भन्न नसकिने उनी बताउँछन् । अहिलेको वास्तविक प्रश्न हामी २० लाख पुग्न नदिन सामूहिक रुपमा तयार छौं कि छैनौं भन्ने भएको उनको भनाइ छ ।
गत वर्षको चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट शुक्रवारसम्म विश्वभर ३ करोड २० लाख मानिसहरु संक्रमित भइसकेका छन् । यसबाट मर्नेको संख्या पनि कम्तिमा ९ लाख ८३ हजार ९०० छ ।
रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदरमा कमी आइरहेको छ । तर सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुने उनी बताउँछन् । केही दिनयता युरोपमा ठूलो संख्यामा संक्रमित देखिने क्रम शुरु भएको छ । भारतमा पनि संक्रमण बढ्दो छ । एजेन्सी
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार १९:२१