कसैले उतैबाट भन्यो
घरको संघार नाघेर निस्केको परदेशीले
कुलदेवताको सम्झना गर्न मिल्दैन
पोख्न मिल्दैन
मनका उकुसमुकुस
आफ्नो प्रिय भाषामा
लेख्न त झन् मिल्दै मिल्दैन
दैनिकीबाट निचोरेर
सकीनसकी निकालेको
थोरै फुर्सदमा
म जवाफ के दिउँ ?
देखाउनलाइ भनेर तिमीलाई
कहिल्यै ठूला मान्छेहरुसंग
कुम जोरेर फोटो खिचिएन
र यी आफ्नैहुन् भनेर देखाईएन कहींकतै
कसैलाई भगवान बनाएर
जबर्जस्ती चढाईएन पाउमा पुष्पगुच्छाहरु
र थापिएन झुठो आत्मियताको कृत्रिम आशिर्वाद
मनकारी हुँ भनि देखाउनलाई
बाटो दोबाटोमा हिडिएन बाँडदै हरिया नोटहरु
र छपाईएन फोटो सहितका प्रायोजित समाचारहरु
बस गरियो त केवल
सम्झना आफ्नो भाषाको
पूजा साहित्यको
आराधना संस्कृतिको
थोरै उकालो हिड्ने प्रयास गरियो
थोरै अप्ठेरो छल्ने कोसिस गरियो
थोरै बेदना पोख्ने चेष्टा गरियो
थोरै भावना बोल्ने जमर्को गरियो
तिमीले यसमै अपराध देख्यौ
र जारी गर्यौ तिम्रो फरमान
बेस्करी घोचीरहंदा तिम्रा शब्दबाणहरुले
र तिमीले प्रश्न गरिरहँदा मेरो निष्ठामा
मेरो स्वाभिमान अलिकति गलेको छ, तिम्रो अभिमानको अगाडी
मेरो आदर्श थोरै चोइटिएको छ, तिम्रो व्यभिचारको सामुन्ने
दुनिया हेर्न नचाहने तिमीलाई देखाउनलाइ
अरुलाई सुन्न नचाहने तिमीलाई सुनाउनलाइ
संसार पढ्न नचाहने तिमीलाई पढाउनलाइ
म लाचार छु मित्र
म संग केहि छैन
सिबाय
अरुले घोचीरहंदा पनि कहिल्यै नबिझाउने
आफ्नै तस्विर सहितको
जतन साथ सिरानीमै सजाएर राखेको
हरियो रंगको एउटा पासपोर्ट
प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार ०७:१२