के लेख्नु मैले पऱ्यो ! – माधवप्रसाद घिमिरे

के लेख्नु मैले पऱ्यो !    –  माधवप्रसाद घिमिरे

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १० गते बुधबार ०२:२२

(जन्म: वि.सं. १९७६ असोज ७ गते मृत्यु: २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा,...

(जन्म: वि.सं. १९७६ असोज ७ गते मृत्यु: २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको छ। उनको मृत्यु वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो।

घिमिरेकाे गाैरी शाेककाव्यकाे  के लेख्ननु मैले मैले पऱ्यो ! का केही श्लाेकहरू

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !

मेरीलाई म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा
मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा
यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि
छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि

मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा
बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा
लैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनी
आउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि

मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौ
आमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौ
आफैं ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियो
के थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो

सम्झी ल्याउँछु– आज छैन रिस क्यै, गाली गरेहूँ किन
जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किन
आफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयो
के सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो

आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनि
छन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनि
केही छैन उपाय, खालि कमलो छाती लिएको कवि
टाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि

यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !

क्वै भन्लान्– शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमा
क्वै भन्लान्– यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमा
बाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अब
ती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब

कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है
सम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ है
खोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनि
सम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी

हे नारायण के भयो !

पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमती–पवित्र तटमा मेरी निदाइन् अब

कस्तो शान्ति छ – रातको त पहरा रातै घुसेको सरि
रोकि श्वास मसानमा छ शिवको छाया बसेको सरि
गङ्गा खालि सुसाउँछिन् बगरमा नाना बिलौना गरी
टाढा रोइरहेछ एक बटुवा साथी छुटेको सरि

मान्छे हो, अहिल्यै अमङ्गल अहो ! भन्छौ मलाई किन
यै कालो निशिमा छिपाइ मुख यो देओ मलाई रुन
हे नारायण के भयो ! जुन कुरा भन्थेँ नहोस्, त्यै भयो
छैनौ हे सँगिनी ! तिमी कि अहिले संसार नै छैन यो !

बेहानीपख जो उठेर बटुवा चल्छन्, तिमी चल्दिनौ
यत्रो खल्बलपूर्ण भूमितलमा खाली तिमी बोल्दिनौ
धारामा जल जो भरेर युवती हाँस्छन् तिमी हाँस्तिनौ
तिम्रै मात्र भयो र के ? सब जना बाँच्छन् तिमी बाँच्दिनौ

हे गौरी ! अब हेर्दिनौ हकि तिमी ब्यूँझी उज्यालो दिन
मैले देख्नुपर्यो नि आज भुइँमा मेरी नभा’को दिन
बाँचेरै यतिसम्म, एक छिनमै के जिन्दगी सिद्धियो
मेला आज उठ्यो विशाल उनका लेखा जगत् सिद्धियो

तिम्रो अन्तिमको शिँगार सँगिनी ! कात्रो कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो ‘टीलो’ कसोरी भनूँ
गाली होइन, किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी
मुर्दानीर्, कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी

यत्रो लोक कहाँ गयो, जब तिमी एक्लै गयौ घाटमा
चिम्ल्यौ लोचन अन्धकारबिचमा आषाढको रातमा
के भो लोक चिनेर, फेरि ममता मेरो लिएरै पनि
हा अज्ञान, अभाव, भूलहरुमा तिम्रो गयो जीवनी !

अउन्नन् अब हे नहेर, चुचुरा ! गौरी पखेरामनि
गाउन्नन् अब गाउँका युवति हो ! गौरी छहारीमनि
बर्सी जा र पहाडमा खबर यो लैजा रुँदै बादल
घर्पेटी ! अब शान्तिलाई भनिद्यौ– आमा गइन् मावल!

प्रकाशित मिति १० भाद्र २०७७, बुधबार ०२:२२
प्रतिक्रियाहरू
गजल – निर्मल घिमिरे

गजल – निर्मल घिमिरे
२०७७ असोज २ गते शुक्रबार ०९:२९

गजल – चित्रमान तामाङ

गजल – चित्रमान तामाङ
२०७७ असोज २ गते शुक्रबार ०८:५९

देव सजन सुनारकाे चार मुक्तक

देव सजन सुनारकाे चार मुक्तक
२०७७ असोज १ गते बिहिबार ०७:३७

कविता – बिजयीता भण्डारी

कविता – बिजयीता भण्डारी
२०७७ असोज १ गते बिहिबार ०७:०३