राष्ट्रकविसँगको भेटवार्ताको केही स्मरण – मुक्तिनाथ घिमिरे

राष्ट्रकविसँगको भेटवार्ताको केही स्मरण – मुक्तिनाथ घिमिरे

मुक्तिनाथ घिमिरे

@Mayur Times

२०७७ असोज ५ गते सोमबार ०१:३२

उहाँले फेरि कविताको प्रसङ्ग ल्याउनुभयो । २०३६ सालमा मैले “तीनकुने तारा” नामक लघुकाव्य प्रकाशित गरेको थिएँ । त्यसमा कविजीले “चिनारी” शीर्षकको शुभकामना लेखिदिनु भएको थियो । उहाँले चिनारी लेखिदिनुभएको दिनचाहिँ १९ श्रावण २०३४ थियो । अहिलेको जस्तो प्रविधि नहुनाले त्यस पटकको उहाँको बाहुली निसाना राख्न मिलेन र नाउँमात्र राखियो । त्यो कुरा पनि उहाँले सम्झनुभयो । फेरि उहाँले लमजुङका दुराको प्रसङ्ग उठाउनुभयो । खजे दुराले कास्कीकोटबाट यशोब्रह्म शाहलाई बोकेर ल्याएका थिए । कुश्माखर घिमिरेले अभिषेक दिएर गादी चढाएका थिए । देउबहादुर दुराले ठाडोभाका गीत जन्माए । विमाकुारी दुराले गीत घन्काइन् । यस्तै कुरा गर्नुभयो । पछि तिनको भाषाको बारेमा पनि प्रसङ्ग उठाउनुभयो ।

मितिः२०७४ साल पुस ३ गतेको दिन थियो । म राष्ट्रकविज्यूलाई भेट्न काठमाडौँको लैनचौर स्थित उहाँकै निबासमा गएँ । उमेर अवस्था पाको भए पनि मलाई जहाँ देखे पनि उहाँले  चिन्नुहुन्थ्यो । वि.सं.२०३० सालदेखि नै उहाँसँग मेरो चिनजान भएको थियो । त्यस दिन भेट भएपछि सामान्य सन्चो विसन्चोका कुरा भए । अन्य भलाकुसारी पनि भए । त्यसपछिका दिनहरुमा भेट भएपछि उहाँले पठनपाठन, कविता लेखन आदिका बारेमा कुरा गर्नुहुन्थ्यो । पारिवारिक कुरालाई पनि उहाँले निकै महत्व दिनुहुन्थ्यो । त्यस दिनको मेरो मुख्य काम चाहिँ मैले तयार गरेको एउटा किताबमा उहाँको बाहुली निसाना राख्नु थियो । मैले ल्यापटप खोलेर प्रमुख शीर्षक र तिनका मार्मिक पक्षको बारेमा पढेर सुनाएँ । आजकाल कविता लेख्ने काम कत्तिको छ त उहाँले प्रश्न गर्नुभयो । म आजकाल भाषामा भासिएको हुनाले कविता लेख्ने काम अलि कमै छ मैले उत्तर दिएँ । बीचमा रोकिएर उहाँले “गौँथली र गजधम्मे” को प्रसङ्ग उठाउनुभयो । यो किताब कण्ठै छ नि हगि भन्नुभयो । केही हदसम्म छ मैले उत्तर दिएँ । उहाँलाई कस्तो प्रभाव परेको थियो भने, त्यस किताबको रचना कालमा मैले उहाँलाई उहाँकै निबासमा भेटेको थिएँ । उहाँले लेख्तै गर्दाको केही पङ्क्ति पढेर सुनाउनु भएको थियो । जो निम्नानुसार छन्ः
लमी भन्छ केटो कस्तो मूर्ति जस्तो अहा !
मण्डपमा मन्त्र पढ्दा बल्ल भयो थाहा ।
लमी भन्छ केटी कस्ती माछा जस्ती अहा !
मण्डपमा माणो घुम्दा बल्ल भयो थाहा ।
+ + +
प्रभु तिम्रो मुरलीमा नवै थरी छिद्र
यौटा स्वर घुसाइद्यौ न यो लाटाको भित्र ।
यस गीतिनाटकको कथावस्तुमा गौँथली नाउँ गरेकी केटी नायिका छ । ऊ डुँडी छ । त्यसै गरी गजधम्मे नाउँ गरेको केटो नायक छ । ऊ चाहिँ लाटो छ । यी दुई पात्रलाई कविज्यूले एक जोडी बनाइदिनुभएको छ । श्रीमान लाटो भएकोमा गौँथली खिन्न हुन्छे । उसले भगवान् श्रीकृष्णको तपस्या गर्छे । तत्पश्चात लाटो बोलेको देखाइएको छ । माथिका थोरै हरफ लगायत धेरै हरफ सरर मैले भनेको सुनेर उहाँ निकै खुसी हुनुहुन्थ्यो । अनि अश्वत्थामा पनि आउँछ भनेर प्रश्न गर्नुहुन्थ्यो । अनि मैले
यो ढुङ्गाबाट कल्चौँडे त्यो ढुङ्गा माथि बस्तथ्यो
पोथीलाई पुकारेर कन्दरा भित्र पस्तथ्यो ।
पक्षी उड्दै छ त्यो आज खस्तै छन् प्वाँख भर्भरी
कालो वन बिरालाले एक्कासि झम्टिए सरी ।
अश्वत्थामा गीति नाटकका यस्ता धेरै हरफ पढेर सुनाएपछि खुसी भएर “अश्वत्थामा पनि कण्ठै रहेछ ल !” भन्नुहुन्थ्यो । अनि प्रसङ्ग फेरि ल्यापटप तर्फ जोडियो । मैले महत्वपूर्ण शीर्षक र तिनका मार्मिक अङ्गलाई सुनाउँदै गए । मैले बाइसी चौबिसी राज्यकालको लमजुङको ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक महत्वका वस्तुहरु समेटेर लिपिबद्ध गरेको थिएँ । तत्कालीन लमजुङ राज्यका घले राजा र शाही राजाका बीचको मनोमालिन्य, शेषान्त भाइ र खसान्त भाइ बीचको एकाकार जस्ता कुरा पनि समावेश गरेको थिएँ । त्यो प्रसङ्गमा घले र शाही दुबै थरीलाई सामन्जस्यतामा ल्याउने अभिलेख तयार गर्नुपर्छ भनेर उहाँले मलाई सल्लाह दिनुभएको थियो ।

उहाँले फेरि कविताको प्रसङ्ग ल्याउनुभयो । २०३६ सालमा मैले “तीनकुने तारा” नामक लघुकाव्य प्रकाशित गरेको थिएँ । त्यसमा कविजीले “चिनारी” शीर्षकको शुभकामना लेखिदिनु भएको थियो । उहाँले चिनारी लेखिदिनुभएको दिनचाहिँ १९ श्रावण २०३४ थियो । अहिलेको जस्तो प्रविधि नहुनाले त्यस पटकको उहाँको बाहुली निसाना राख्न मिलेन र नाउँमात्र राखियो । त्यो कुरा पनि उहाँले सम्झनुभयो । फेरि उहाँले लमजुङका दुराको प्रसङ्ग उठाउनुभयो । खजे दुराले कास्कीकोटबाट यशोब्रह्म शाहलाई बोकेर ल्याएका थिए । कुश्माखर घिमिरेले अभिषेक दिएर गादी चढाएका थिए । देउबहादुर दुराले ठाडोभाका गीत जन्माए । विमाकुमारी दुराले गीत घन्काइन् । यस्तै कुरा गर्नुभयो । पछि तिनको भाषाको बारेमा पनि प्रसङ्ग उठाउनुभयो ।

२०७४ सालमा “दुरा भाषाको वर्णमाला” नामक पुस्तक प्रकाशित गरेको थिएँ । त्यसमा उहाँले लेख्नुभएको मन्तव्यको केही अंश र उहाँको बाहुली निसाना ज्युँका त्युँ छ । त्यो किताब Library of Congress, Wasington, America मा सात थान पठाइएको छ भनेँ । यो कुरा सुनेर उहाँ असाध्यै खुसी भएर मलाई धाप मार्नुभयो । अनि अब भाषाका अध्येताले अमेरिकामा पनि पढ्न पाउने भए भनेर अरु खुसी थप्नुभयो । प्रसङ्ग फेरि ल्यापटपतिर नै गयो । मैले केही अंश पढेर सुनाएपछि त्यस पुस्तकको सार कुरा बुझ्न खोज्नुभयो । अनि मैले यसरी भनेँः किताबको नाउँ “नेपाली राष्ट्रियताको परिवेशमा दुरा समुदायको सांस्कृतिक जीवन” हो भनेँ । यसभित्रका विषयवस्तुमा अध्यायः १ मा लमजुङको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमि छ । अध्यायः २ मा लमजुङको भाषा र साहित्य छ । अध्यायः ३ मा नेपालका दुरा जातिको इतिवृत्ति छ । अध्यायः ४ मा नेपाल राष्ट्रको प्रारूप  निर्माण लमजुङेहरुको योगदान छ । लमजुङका कोट, गढी, गौँडा तथा शक्तिपीठहरु र तिनको पूजा व्यवस्थापन पनि उल्लेख गरिएको छ भनेँ । अनि उपसंहार खण्ड छ । त्यसपछि चित्रसूची र सन्दर्भ सामग्री राखिएको छ भनेँ । उहाँले चित्र पनि हेर्नुभयो र किताब त ठूलै हुनेभयो भन्नुभयो । मैले हो ठूलै हुन्छ भनेँ । सोही पुस्तकमा उहाँका दुई शब्द लेखाइमाग्ने मेरो अभिप्राय थियो । उहाँले अरु धेरै कुरा लेख्न मेरा हात चल्दैनन् । दस्तखत सम्म गरुला भन्नुभयो ।

अनि उहाँले लमजुङको संस्कृतिको कुरा उठाउनुभयो । जगमान गुरुङलाई लमजङको इतिहास, संस्कृति र पुरातत्वका बारेमा धेरै ज्ञान छ । उनीसँग सम्पर्क गरेमा फाइदा हुन्छ भन्नुभयो । मैले उहाँसँग मेरो सम्पर्क छ । उहाँबाट धेरै कुरा सिकेको छु भनेँ । उनले मलाई फोन गरिरहन्थे । अहिले लामो समय भयो सम्पर्क छैन भन्नुभयो । मैले लगत्तै जगमान सरलाई मेरो मोबाइलबाट फोन गरेँ । सामान्य सन्चो विसन्चोका कुरा भए । म राष्ट्रकविज्यूका घरमा उहाँकै साथमा छु भनेँ । अनि यो कुरा कविजीले बुझनुभएको थियो । जगमान सरलाई कविजीसँग बोल्ने आग्रह गर्दै मोबाइल कविजीलाई दिएँ । कविजीले कान थाप्नुभयो । अनि जगमान सरले गुरुबा ! ढोग गरेँ भन्नुभयो । “आशीर्वाद बाबु, जय होस्” कविजीले भन्नुभयो । एकछिन उहाँहरु दुई जनाले भलाकुसारी गर्नुभयो । उहाँहरुलाई फोनको माध्यमबाट जुटाइदिने सौभाग्य मैले पनि पाएँ । अनि मोबाइल मलाई दिएर “इतिहास, संस्कृति र पुरातत्वमा जगमान बराबरको ज्ञता नेपालमा छैनन्” भन्नुभयो । ज्योतिषशास्त्रमा पनि उत्तिकै निपुण छन् भन्नुभयो । अनि मैले उहाँको विद्यावारिधी नै ज्योतिषशास्त्रमा हो भनेँ । त्यसपछि अन्तर्आत्माबाट सरस्वतीले घचघच्याइन् । मेरा हातबाट कलम र कागज तानेर लेख्न थाल्नुभयो । मेरो पुस्तकको लागि शुभाशिक शीर्षकको एक पृष्ठ मन्तव्य लेखिदिनुभयो । सो पाण्डुलिपि हुबहु मैले त्यस पुस्तकमा राखेको छु । नेपाल संस्कृत विश्वविद्यालय, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रले त्यसलाई प्रकाशित गरिदियो । २०७६ असोज ७ गते राष्ट्रकविको १०१औँ शुभ जन्मोत्सवको दिन थियो । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालका अध्यक्ष –नेपाल सरकारका पूर्व सचिव) माधवप्रसाद घिमिरेको अगुवाइमा, सदस्य सचिव अजय घिमिरे, सह कोषाध्यक्ष्य रामप्रसाद घिमिरे लगायतको ठूलो समूह कविजीकै निबासमा पुगेर शुकामना दिएको थियो । घिघिरे बन्धु जिल्ला समन्वय समिति लमजुङको तर्फबाट मैले राष्ट्रकविज्यूलाई जन्म दिनको शुभकामना दिएँ । साथै “नेपाली राष्ट्रियताको परिवेशमा दुरा समुदायको सांस्कृतिक जीवन” नामक अनुसन्धान मूलक ग्रन्थ एक थान उहाँका हातमा राखिदिएँ । उहाँ निकै खुसी हुनुभयो ।

मेरा लागि त्यो अवसर पनि महत्वको विषय थियो । यो किताब पनि Library of Congress, Wasington, America  मा दर्ता गराएर राखिएको छ मैले भनेँ । उहाँले मेरो शिरमा हात राखेर धन्यवाद, अरु प्रयास गर्नू भन्नुभयो । बेला मौकामा म उहाँलाई भेट गर्न जान्थे । धेरै भलाकुसारी हुन्थे । बन्धुत्वको नाताले मलाई विशेष माया गर्नुहुन्थ्यो । उहाँसँगका दुई वटा दुर्लभ अन्तर्वार्ता मसँग सुरक्षित छन् । भविष्यमा “राष्ट्रवि माधवप्रसाद घिमिरे स्मृति ग्रन्थ ” तयार गर्दाका अवसरमा त्यसलाई अगाडि बढाउनेछु ।
अस्तु

प्रकाशित मिति ५ आश्विन २०७७, सोमबार १३:३२
प्रतिक्रियाहरू